२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

नेपाललाई खोज तथा उद्धारमा सघाउने अमेरिकाको प्रस्ताव, अनुरोध गरिए सहयोग गर्न तयार

वाशिंगटन, डी. सी. मा रहेको अमेरिकी विदेश मन्त्रालयको भवनको लबीको प्रवेशद्वार । (सेर्कन गुर्बुज/विदेश मन्त्रालय)

अमेरिकाले नेपालमा परेको विपद्‌पछि खोज तथा उद्धार कार्यमा सहयोग गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारले औपचारिक अनुरोध गरेको खण्डमा उद्धार टोली खटाउन र आवश्यक सहायता उपलब्ध गराउन आफूहरू तयारी अवस्थामा रहेको अमेरिकाले स्पष्ट पारेको छ।

खसोखासलाई दिएको प्रतिक्रियामा अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले भने, “अमेरिकाले खोज तथा उद्धार सहायता प्रदान गर्ने प्रस्ताव गरेको छ। नेपाल सरकारले त्यस्तो सहायता मागेको खण्डमा हामी नेपाल सरकारकै समन्वयमा खोज तथा उद्धार प्रयासहरूमा सहयोग गर्न पूर्ण रूपमा तयार छौँ।”

विदेश मन्त्रालयले नेपालको हालको स्थितिलाई निरन्तर र नजिकबाट नियालिरहेको जनाएको छ। सम्भावित सहायता तथा उद्धार कार्यलाई द्रुत गतिमा अघि बढाउन मन्त्रालयले यस क्षेत्रमा विपद् प्रतिक्रिया सल्लाहकारहरू समेत खटाइसकेको जनाएको छ।

यसैबीच, अमेरिकी सहयोगको पहिलो खेप अगस्ट २९ र ३० को बीचमा नुवाकोट र रसुवा पुगेको छ। कार्यवाहक राजदूत स्कट अर्बामले अगस्ट २९ मा पठाएको उक्त सहयोगमा रसुवा र नुवाकोटका ४०० जनाका लागि २.५ टनभन्दा बढी खाद्य सामग्री, ५०० वटा कम्बल, ५०० वटा झुल र आश्रयस्थलको भुइँमा ओछ्याउने ५०० वटा इन्सुलेटिङ फोम सिटहरू समावेश थिए।

अमेरिकाले नेपाल र आफ्ना सबै साझेदारहरूसँग निरन्तर नजिकबाट समन्वय गरिरहेको अमेरिकी दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ। साथै नेपालको मागलाई सम्बोधन गर्न र आवश्यक परेकाहरूसम्म राहत पुर्‍याउन ३६ लाख अमेरिकी डलर सहायता विनियोजन गरेको पनि दूतावासले जनाएको छ।

यसै सन्दर्भमा, नेपाल सरकारले नेपाल आइपुगेका भारतीय र चिनियाँ उद्धारकर्ता टोलीलाई सुरुङ उद्धारका लागि विपत्‌को ५ दिनपछि मात्र अनुमति दिएको थियो। रसुवा बाढीको उद्धारका लागि आएको चिनियाँ उद्धारकर्ता टोली २१६ मेगावाटको अपर त्रिशूली–१ (यूटी-वान) आयोजनामा उद्धारका लागि खटिएको थियो। सोही आयोजनाको चिनियाँ ठेकेदार चाइना रेलवेसँगको समन्वयमा चीनको ९ सदस्यीय टोली उद्धारका लागि आयोजना प्रभावित क्षेत्रमा खटिएको थियो। चिनियाँ सुरुङ उद्धारकर्ताको दोस्रो टोली पनि आइतबार नेपाल आइपुगेको थियो।

त्यस्तै, ११ सदस्यीय भारतीय टोली चिलिमे जलविद्युत् आयोजनामा उद्धारका लागि खटिएको थियो। टोलीमा भारतका डाक्टर, प्यारामेडिक्स र सुरुङ इन्जिनियरहरू सहितका प्राविधिकहरू छन्। अर्को २२ सदस्यीय भारतीय सेनाको टोली पनि उद्धार कार्यमा परिचालन गरिएको छ। भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरेर अत्याधुनिक उपकरणको सहयोगमा सुरुङ खुलाउने र फसेकाहरूको उद्धार गर्ने काम सुरु गरेको थियो।

यसका साथै, उद्धारका लागि दक्षिण कोरियाको टोलीसमेत नेपाल पुगेको छ। बेलायत सरकारले पनि आफ्नो ‘र्‍यापिड डिप्लोयमेन्ट टिम’ (आरडीटी) नेपाल पठाउने घोषणा गरेको थियो। उक्त टिमले नेपाली अधिकारी तथा बेलायती दूतावाससँग समन्वयमा काम गर्ने र खासगरी बेलायती नागरिकको उद्धार तथा कल्याणमा काम गर्ने बेलायती विदेशमन्त्री एड मिलिबान्डले उल्लेख गरेका थिए। बेलायती टिम नेपाल आइसकेको र बेलायती नागरिकलाई आवश्यक पर्दा सहयोग गर्न तम्तयार बसेको जनाइएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

बेलायत सरकारले नेपाललाई उद्धारकर्ताहरू पनि पठाउने बताएको थियो, तर नेपाल सरकारले बेलायती उद्धारकर्ताहरू आवश्यक नभएको सन्देश दिएपछि उनीहरू नेपाल नआएको जनाइएको छ।

साथै, अस्ट्रेलिया सरकारले पनि उद्धारकर्ता टोली नेपाल पठाउने भनेको थियो। तर, नेपाल सरकारले उनीहरूलाई पनि आउन अनुमति नदिएपछि उनीहरू नआएको जनाइएको छ।

यस अघि खोज तथा उद्धार कार्यका लागि नेपाललाई विदेशी सहायता आवश्यक नरहेको परराष्ट्र मन्त्रालयले जनाएको थियो । आफ्ना नागरिकहरू बेपत्ता भएका विभिन्न देशहरूले सहयोगको प्रस्ताव गरे पनि नेपालले प्रस्ताव अस्वीकार गरेको थियो ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।