श्रीमती र ३ नाबालक छोरासहित परिवारका ८ बेपत्ता खोज्न मलेसियाबाट आएका सुविन्द्र: ‘घर भएको ठाउँमा खोला बगेको छ’
“घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ, परिवार जिउँदा छन् कि मरे, केही पत्तो छैन…” — मलेसियाबाट फर्किएर सेनाको क्याम्पमा बेपत्ता परिवारको नाम खोज्दै स्तब्ध बनेका नुवाकोटका सुबिन्द्र नगरकोटी। फोटो : दीपेन्द्र ढुंगाना
मलेसियामा काम गरिरहेका नुवाकोटका सुबिन्द्र नगरकोटीले नेपालमा बाढीले आफ्नो सम्पूर्ण परिवार बगाएको खबर सुन्दा सुरुमा पत्याउनै सकेनन्। उनकी श्रीमती मनमाया तामाङ, चार वर्षका जेठा छोरा अविरल नगरकोटी, दुई वर्षका जुम्ल्याहा छोराहरू अयन नगरकोटी र अमन नगरकोटी, भाउजू माया शेर्पा तथा भतिजा-भतिजीहरू फुर्मा नगरकोटी, न्हिमा ग्याल्बो नगरकोटी र सिम्रन नगरकोटी गरी परिवारका आठै जना सदस्य अहिले बेपत्ता छन्। चीन–नेपाल सीमाबाट २६ अगस्ट २०२६ को बिहान आएको आकस्मिक विनाशकारी बाढीले उनीहरू बस्दै आएको घरसमेत बाढीले नामोनिसान नरहने गरी बगाएको छ।
सुबिन्द्र मलेसियास्थित ‘माइक्रोन’ कम्पनीमा काम गर्छन्। उनकी श्रीमती र तीन छोरासहित उनकी भाउजू तथा तीनजना भतिजा–भतिजी नुवाकोटको बेत्रावती क्षेत्रमा बस्दै आएका थिए। बाढी आएपछि उनीहरू आठै जना सम्पर्कविहीन भएका छन्।
बाढीको खबर पाएलगत्तै सुबिन्द्रले कम्पनीबाट भदौ ११ गते आपत्कालीन बिदा लिएर नेपाल फर्किए। त्यसयता उनका दिनहरू बेपत्ता परिवारको खोजीमै बितिरहेका छन्।
“अहिलेसम्म कसैको पत्तो पाएको छैन। घर सबै बगाएको छ,” सुबिन्द्रले भावुक हुँदै भने।

उनका अनुसार बेत्रावती क्षेत्रमा एउटा पेट्रोल पम्पअगाडि जग्गा किनेर उनीहरूले घर बनाएका थिए। तर, मलेसियाबाट नेपाल फर्किएर घटनास्थल पुग्दा घरको कुनै चिह्न बाँकी थिएन।
“नेपाल ओर्लिनेबित्तिकै म त्यहाँ पुगेको थिएँ, तर केही पनि रहेनछ। घर भएको ठाउँमा अहिले खोला बगिरहेको छ। सब तहसनहस भइसकेछ,” उनले भने, “परिवार जिउँदा छन् कि मरे, केही पत्तो छैन। लासको पनि केही चिनो भेटिएको छैन।”
छोराको चौथो जन्मदिन र श्रीमतीसँगको अन्तिम फोन
बाढी आउनुभन्दा दुई दिनअगाडि मात्रै जेठा छोरा अविरलको चौथो जन्मदिन थियो। मलेसियामा रहेका सुबिन्द्रले छोराको जन्मदिनमा सामाजिक सञ्जालमा भावुक शुभकामना पोस्ट गर्दै लेखेका थिए: “ तिमी मेरो पहिलो खुसी, मेरो गर्व र मेरो जीवनको सबैभन्दा अमूल्य उपहार हौ। आजको दिन मेरो लागि केवल तिम्रो जन्मदिन मात्र होइन, यो त्यो दिन हो जुन दिन मैले तिमीलाई यस संसारमा ल्याएर जीवनकै सबैभन्दा ठूलो खुसी अनुभव गरेको थिएँ। तिमी मेरो जेठो छोरा मात्र होइनौ, तिमी मेरो जीवनको अनमोल खुसी र मेरो गर्व हौ… तिम्रो हरेक खुसीमा तिम्रो बुबा तिम्रो साथमा हुनेछ।”
छोरालाई शुभकामना दिएको दुई दिनमै यस्तो विपत्ति आइलाग्ला भनेर उनले कल्पनासम्म गरेका थिएनन्।

बाढी आउनुअघि सुबिन्द्रले श्रीमतीसँग अन्तिम पटक फोनमा कुरा गरेका थिए। मलेसियाको समयअनुसार साँझ करिब ७ः१५ बजे, अर्थात् नेपालको समयअनुसार साँझ करिब ५ बजे, काम सकेर कोठामा फर्किएपछि उनले श्रीमतीलाई फोन गरेका थिए।
सुरुमा श्रीमतीले फोन उठाइनन्। पटक–पटक फोन गरेपछि मात्र उनले फोन उठाइन्।
“मैले सोधेँ—के गर्दैछौ, बिरामी छौ कि क्या हो? बुढीले सन्चो छैन जस्तो कुरा गरिन्। मैले आराम गर, बच्चाहरूको ख्याल गर भनेँ,” अन्तिम कुराकानी सम्झिँदै सुबिन्द्रले भने, “त्यही नै अन्तिम कुराकानी बन्यो।”
त्यसपछि उनले धेरै पटक फोन गरे। तर, सम्पर्क हुन सकेन।

“त्यस्तो अनिष्ट होला भन्ने मलाई लागेकै थिएन। थाहा भएको भए सतर्क गराउँथे होला। म परदेशमा थिएँ, केही मेसो नै पाइनँ,” उनले दुःखेसो पोखे।
सुबिन्द्रका जेठा छोरा चार वर्षका छन् भने जुम्ल्याहा छोराहरू भर्खर दुई वर्षका भएका छन्। उनी केही समयअघि मात्रै तीन महिनाको बिदा मनाएर मलेसिया फर्किएका थिए। तर, मलेसिया पुगेको केही समयमै बाढीको खबर पाएपछि उनी पुनः आपत्कालीन बिदा लिएर नेपाल फर्किनुपरेको हो।
नेपाल फर्किएको तीन–चार दिन बितिसक्दा पनि परिवारको कुनै अत्तोपत्तो छैन।
“अहिलेसम्म केही थाहा भएको छैन। कुन अवस्थामा छन्—न जिउँदो भेटिएका छन्, न त शव नै,” उनले भने।
उद्धार सूचीमा परिवारको खोजी
सुबिन्द्रले परिवारको खोजीका लागि सामाजिक सञ्जालमा श्रीमती, छोराहरू, भाउजू र भतिजा–भतिजीका तस्बिर राखेर सहयोगको अपिल गरेका छन्। उनले आफ्नो फोन नम्बरसमेत सार्वजनिक गर्दै कसैले उनीहरूलाई देखे वा भेटेमा खबर गरिदिन अनुरोध गरेका छन्। तर, अहिलेसम्म कतैबाट पनि सकारात्मक खबर आएको छैन।
नेपाल फर्किएदेखि सुबिन्द्रको दैनिकी नेपाली सेनाको क्याम्प र उद्धारस्थलमा बित्ने गरेको छ। उद्धार गरिएका व्यक्तिहरूको नामावलीमा कतै आफ्ना परिवारका सदस्यको नाम भेटिन्छ कि भन्ने आशामा उनी दिनहुँ त्यहाँ पुग्छन्।

“आएको तीन–चार दिन भइसक्यो, म दिनभर हिँडेको हिँड्यै छु। दिनहुँ आर्मी क्याम्प पुगेर उद्धार गरिएकाहरूको नामको सूची हेर्छु। तर, कतै नाम भेटिँदैन,” उनले निराशा व्यक्त गरे।
उनकी वृद्ध आमा भने गाउँमै सुरक्षित छिन्। बुबाको पहिले नै निधन भइसकेकाले आमा गाउँमा गाईवस्तु हेरेर बस्दै आएकी थिइन्। तर, सहरमा बसिरहेको सिंगो परिवार एकाएक बेपत्ता भएपछि सुबिन्द्र अहिले अन्योल र स्तब्ध अवस्थामा छन्।
“अब परिवार नै रहेन। भोलि बाँचिन्छ कि बाँचिँदैन, त्यो पनि थाहा छैन। के गर्ने भन्ने केही सुझबुझ छैन,” उनले भने, “अहिले त केवल गाउँमा भएकी आमाको मुख हेरेर बाँचिरहेको छु। अब के हुन्छ, मैले केही सोच्नसमेत सकेको छैन।”
यो सामग्री विविधतापूर्ण स्थानीय सञ्चारमाध्यमलाई सहयोग गर्ने गैरनाफामूलक संस्था यूआरएल कलेक्टिभ को अनुदानबाट तयार गरिएको हो।





