अमेरिकामा बढ्दो तापक्रमको मारमा श्रमिक, चुनावमा ओझेल पर्दै जलवायु परिवर्तनको मुद्दा
Photo: Rahul Kashyap/Unsplash
कोलोराडोमा हुर्किंदा वायु प्रदूषण र जङ्गली डढेलो सामना गरेका चार्ल्स ह्युजेसका लागि जलवायु परिवर्तन सधैँ मुख्य विषय रह्यो। यस्तै, म्यासाचुसेट्सका छाना छाउने श्रमिकहरू पनि विगत ३० वर्षयताकै चर्को गर्मीका कारण काम र जीवनमा चरम सास्ती खेप्न बाध्य छन्। तर, यति हुँदाहुँदै पनि यो विषय अहिले अमेरिकी राजनीति र चुनावी बहसबाट हराउँदै गएको छ।
“साँचो भन्नुपर्दा, अचेल यो विषयमा खासै छलफल नै हुँदैन,” स्टेट च्याप्टर अफ दी कलेज डेमोक्र्याट्सका अध्यक्ष ह्युजेस भन्छन्। सन् २०२० को चुनावमा डेमोक्र्याटहरूले ‘ग्रीन न्यु डिल’ जस्ता प्रस्ताव ल्याएर युवाहरूलाई आकर्षित गरेका थिए। तर, अहिले राजनीतिक प्राथमिकता पूर्ण रूपमा फेरिएको छ।
अनुसन्धानकर्ताहरूले यो स्थितिलाई “जलवायु सम्बन्धी मौनता” भनेका छन्। ‘सर्चलाइट इन्स्टिच्युट’ ले मतदाताको प्राथमिकतामा नपरेकाले जलवायुबारे धेरै नबोल्न सुझाव दिएको छ भने ‘सनराइज मुभमेन्ट’ ले पनि आफ्नो ध्यान राजनीतिक विरोधतर्फ मोडेको छ। अहिले जलवायुभन्दा महँगी, स्वास्थ्य सेवा, इजरायल-प्यालेस्टाइन द्वन्द्व र आन्तरिक राजनीति प्राथमिकतामा परेका छन्।
वैज्ञानिकहरूका अनुसार यो वर्ष अहिलेसम्मकै सबैभन्दा तातो हुने सम्भावना छ। सिनेटर शेल्डन ह्वाइटहाउसका अनुसार जलवायु परिवर्तनले मानिसको घरको बिमा, सम्पत्तिको मूल्य र दैनिक खर्चमा सिधा असर पारिसकेको छ। राजनीतिज्ञहरूले यसलाई उपेक्षा गरे पनि बढ्दो तापक्रमले सर्वसाधारण र श्रमिकहरूको जीवन भने दैनिक रूपमा प्रभावित बनाइरहेको छ।





