बाढीपीडितका लागि आर्थिक सहयोग गर्न अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्यदूतावासको अपिल
नुवाकोटमा बाढी प्रभावितको उद्धार । तस्वीर : दीपेन्द्र ढुङ्गाना/खसोखास
रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि अमेरिकास्थित नेपाली दूतावास र महावाणिज्यदूतावासले आर्थिक सहयोग गर्न अपिल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको अपिलअनुसार २०८३ भदौ १० गते बुधबार बिहान ८ः४० बजे आएको बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्र प्रभावित भएका छन्। बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विवरण संकलन भइरहेको जनाइएको छ।
सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका काम तीव्र बनाएको उल्लेख गर्दै पीडितलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन पुनःस्थापनाको आवश्यकता रहेको बताएको छ।
यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोष मा आर्थिक योगदान गर्न सबै नेपाली तथा सहयोगी मनहरूलाई आग्रह गरिएको छ।
न्यूयोर्कस्थित नेपालको महावाणिज्यदूतावासले पनि सामाजिक सञ्जालमार्फत बाढीबाट ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै राहत कोषमा सहयोग गर्न अपिल गरेको छ। सहयोगकर्तालाई प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेका बैंक खातामा रकम जम्मा गर्न अनुरोध गरिएको छ।
रसुवाको भोटेकोशी नदी प्रणालीबाट आएको विनाशकारी बाढीमा कम्तीमा ९५ जनाको मृत्यु भएको छ भने ४०३ पर्यटक तथा यात्रु सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। बाढीले रसुवाको चीन सीमावर्ती क्षेत्रदेखि मुग्लिन आसपासका तल्लो तटीय बस्तीसम्म व्यापक क्षति पुर्याएको अधिकारीहरूले जनाएका छन्।
४०३ जना सम्पर्कविहीन
नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीनमध्ये ३४१ जना विदेशी नागरिक र ६२ जना नेपाली छन्। तीमध्ये २०३ पुरुष र २०० महिला रहेको विवरणमा उल्लेख छ।
सम्पर्कविहीन हुनेमा १३३ भारतीय, ४७ अमेरिकी, ३४ अस्ट्रेलियाली, ३३ बेलायती, २४ क्यानेडियन र १९ मलेसियाली नागरिक छन्। युक्रेन, सिंगापुर, दक्षिण अफ्रिका, जापान, न्युजिल्यान्ड, जर्मनी, फ्रान्स, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्पेन, बेलारुस, फिनल्यान्ड, हंगेरी, इजरायल, लिथुआनिया, पोर्चुगल र फिलिपिन्सका नागरिकसमेत सम्पर्कविहीन सूचीमा रहेको बताइएको छ।
परराष्ट्रमन्त्रीका अनुसार चीनतर्फ आएको भूकम्पपछि ठूलो पहिरो खसेर भोटेकोशी नदी थुनिएको र पछि थुनिएको पानी एक्कासि नेपालतर्फ बगेको हुनसक्ने प्रारम्भिक सूचना छ। अर्कोतर्फ, हिमनदी आसपासको क्षेत्रमा हिउँ र ढुंगासहितको हिमपहिरोले सहायक नदी थुनेर अस्थायी बाँध बनेको र त्यो फुटेपछि ठूलो बाढी आएको हुनसक्ने अनुमान पनि गरिएको छ।
बाढी रसुवागढी नाकाबाट बिहान करिब ९ बजे नेपाल प्रवेश गरी टिमुरे, स्याफ्रुबेँसी तथा रसुवाका अन्य बस्ती हुँदै नुवाकोट, धादिङ, गोरखा र चितवनतर्फ त्रिशूली नदी किनारका क्षेत्रमा पुगेको जनाइएको छ। घटनाको यथार्थ कारणबारे अनुसन्धान जारी छ।

बस्ती, पुल र ऊर्जा संरचनामा क्षति
प्रारम्भिक रूपमा रसुवागढी, टिमुरे र स्याफ्रुबेँसीमा सबैभन्दा बढी क्षति पुगेको बताइएको छ। बाढीले घर, होटल, पसल, प्रहरी चौकी, पर्यटक बस, मालवाहक सवारी र व्यापारिक सामान बगाएको छ। चीनबाट आयात हुने प्रमुख व्यापारिक नाका रसुवागढी भन्सार यार्डमा पनि ठूलो क्षति पुगेको छ।
व्यवसायीहरूको प्रारम्भिक अनुमानअनुसार २०० भन्दा बढी मालवाहक ट्रक तथा ५०० देखि ७०० वटासम्म आयातित विद्युतीय सवारी बगाएको हुनसक्छ। रसुवा सीमा नाकादेखि गल्छीसम्म २० भन्दा बढी पुल बगेको विवरण आएको छ, जसका कारण विभिन्न जिल्लाबीचका सडक सम्पर्क विच्छेद भएका छन्।
चिलिमे, मैलुङ, बेत्रावती, त्रिशूली बजार, देवीघाट, गल्छी, गजुरी र मलेखु क्षेत्रसमेत प्रभावित छन्। अधिकारीहरूले भोटेकोशी, त्रिशूली र नारायणी नदी किनारका बासिन्दालाई नदीतटबाट टाढा रहन तथा आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरेका छन्।
उद्धारमा चुनौती
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, पर्यटक प्रहरी तथा स्थानीयवासी खोज, उद्धार, स्थानान्तरण र राहत कार्यमा खटिएका छन्। हेलिकोप्टर परिचालन गरिए पनि बाढीको अवस्था र प्रतिकूल भौगोलिक स्थितिका कारण केही अति प्रभावित हिमाली बस्तीमा अवतरण गर्न नसकिएको जनाइएको छ।
बाढीबाट चिलिमे, रसुवागढी, त्रिशूली–३ए तथा त्रिशूली–३बी सबस्टेसनलगायत १३ देखि १५ जलविद्युत् आयोजना र सम्बन्धित संरचना प्रभावित भएका छन्। ऊर्जा मन्त्रालयका अनुसार करिब ४३० मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ। विद्युत्, टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध हुँदा रसुवा र नुवाकोटका धेरै क्षेत्र अन्धकारमा परेका छन् र उद्धार तथा क्षति विवरण संकलनमा कठिनाइ भएको छ।
अधिकारीहरूले बाढीको पानी घट्दै जाँदा दुर्गम क्षेत्रमा पहुँच बढ्ने र मृत्यु, बेपत्ता तथा विस्थापितको विवरण परिवर्तन हुनसक्ने बताएका छन्। उद्धार तथा क्षतिको विस्तृत मूल्यांकन कार्य जारी रहेको छ।





