कार्यव्यस्तताबीच मेयर जोहरान मम्दानीको पहिलो बिदा, सादगी देखेर स्थानीय अचम्मित
न्युयोर्क सहरका मेयर जोहरान मम्दानी आफ्नो कामप्रति सधैं निष्ठावान् र अहोरात्र खटिने नेताका रूपमा चिनिन्छन्। सहरवासीलाई आफू सधैं काममै व्यस्त रहेको सन्देश दिने मेयर मम्दानीले हालै आफ्नो कार्यकालको पहिलो बिदा मनाएका छन्। तर, उनले यो बिदाका लागि कुनै टाढाको वा विलासी गन्तव्य रोजेनन्, बरु न्युयोर्क सहरबाट करिब दुई घण्टाको दूरीमा रहेको कक्स्याकी क्षेत्रतिर लागे।
बिदा मनाएर फर्केपछि सोमबार बिहान क्विन्सको ग्लेनडेलस्थित एक पार्कमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर मम्दानीले भने, “सहरको धेरै याद आयो, तपाईंहरूको पनि याद आयो।”
मेयर मम्दानी र उनकी पत्नी रामा दुवाजी कक्स्याकीमा बिदा मनाउन पुग्दा त्यहाँका स्थानीय बासिन्दाहरू निकै अचम्मित र उत्साहित बनेका थिए। वेस्ट कक्स्याकीको ‘टप्स’ किराना पसलमा स्थानीय पत्रकार प्याट्रिक पाचेकोले यो जोडीलाई दुईवटा पोलेको कुखुरा र सागसब्जी किन्दै गरेको देखेका थिए।
सुरुमा सर्वसाधारणको भिडमा यो जोडीलाई चिन्न गाह्रो भए पनि श्रीमती दुवाजीले लगाएको कालो पोसाकले उनीहरूको ध्यान खिचेको पाचेकोले बताए। उनीहरूसँग केवल एक जना बडीगार्ड मात्र थिए। पाचेकोले मेयरसँग कुरा गर्दै कक्स्याकी आउनुको कारण सोध्दा, मेयरले हँसिलो मुद्रामा केही दिन आराम गर्न आएको बताएका थिए।
न्युयोर्कका पूर्वमेयरहरूको तुलनामा मम्दानीको यो भ्रमण निकै सादगीपूर्ण मानिएको छ। पूर्वमेयर माइकल ब्लुमबर्ग बिदा मनाउन बर्मुडास्थित आफ्नो घर जाने गर्थे भने एरिक एडम्स विदेश भ्रमणका लागि चिनिन्थे। तर मम्दानीले भने आफू न्युयोर्कमै केन्द्रित रहने र सहरवासीलाई पनि कामबाट केही समय विश्राम लिन प्रेरित गर्ने बताएका छन्।





