अलास्कामा दुर्गम राडार क्षेत्र नजिकै विमान दुर्घटना: दुई पाइलटसहित आठ जनाको मृत्यु
Photo: Vishu Joo /Unsplash
अलास्कास्थित अमेरिकी वायुसेनाको एक दुर्गम रिमोट साइट नजिकै भएको नागरिक-ठेक्का विमान दुर्घटनामा परेर सवार सबै आठ जनाको मृत्यु भएको अमेरिकी सेनाले जनाएको छ।
स्थानीय समय अनुसार बिहीबार दिउँसो लामो दूरीको राडार स्थल रहेको ‘केप न्युएनहाम’ नजिकै उक्त विमान दुर्घटनाग्रस्त भएको हो।
विमानमा सवार यात्रुहरू को थिए र कुन प्रयोजनका लागि त्यहाँ जाँदै थिए भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन। यद्यपि, अमेरिकी वायुसेना अल्यास्कन कमान्डका प्रमुख लेफ्टिनेन्ट जनरल रोबर्ट डेभिसले उनीहरू “एक कठिन वातावरणमा महत्त्वपूर्ण मिसन पूरा गरिरहेका समर्पित पेशेवरहरू” भएको बताएका छन्।
“यो हाम्रो सैन्य परिवार र हामीले सेवा गर्ने समुदायहरूका लागि एक अत्यन्तै दु:खद क्षति हो,” डेभिसले जारी गरेको विज्ञप्तिमा भनेका छन्, अहिले हाम्रो मुख्य प्राथमिकता उनीहरूका परिवार, साथीभाइ र टोलीका साथीहरूलाई यो कठिन समयमा पूर्ण सहयोग पुर्याउनु हो। खोज तथा उद्धारमा खटिएका टोलीको द्रुत र अथक प्रयासका लागि हामी हृदयदेखि नै आभारी छौँ।
अमेरिकी वायुसेना अल्यास्कन कमान्डका अनुसार उक्त विमान एन्कोरेज अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरी ४५० माइल पश्चिममा रहेको केप न्युएनहामका लागि प्रस्थान गरेको थियो।
दुर्घटनास्थल नजिकै अवतरण गरेका उद्धारकर्ताहरूले विमानमा सवार कसैको पनि जीवितै उद्धार हुन नसकेको पुष्टि गरेका छन्। घटनाको अनुसन्धान सुरु भइसकेको छ भने मृतकका आफन्तहरूलाई खबर गरेपछि मात्र उनीहरूको नाम सार्वजनिक गरिनेछ।
नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्डका अल्यास्का क्षेत्र प्रमुख क्लिन्ट जोन्सनका अनुसार विमानमा दुई जना पाइलट र छ जना यात्रु सवार थिए।
अलास्काको दक्षिण-पश्चिम तटमा रहेको केप न्युएनहाम साइट अलास्का राडार प्रणालीको एक हिस्सा हो, जसले अलास्काको हवाई क्षेत्रमा आउने वा उडान भर्ने विमानहरूको निगरानी गर्ने गर्दछ।





