दूतावासहरुसहित नेपालका दर्जनौं सरकारी वेबसाइटमा पहुँच अवरुद्ध
प्रकाशित मिति : ४ भदौ २०८३, बिहिबार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका विभिन्न मन्त्रालय, विदेशस्थित नेपाली दूतावास र महावाणिज्यदूतावासका आधिकारिक वेबसाइटमा बिहीबार पहुँच अवरुद्ध भएको देखिएको छ।
वेबसाइटहरू खोल्न खोज्दा केहीमा सर्भरमा पहुँच नपुगेको, केहीमा “सेवा उपलब्ध नभएको” भन्ने सूचना देखिएको छ। समस्या नेपाल सरकारका केन्द्रीय तथा विदेशस्थित कूटनीतिक नियोगका वेबसाइटमा समेत देखिएपछि यो एउटै प्राविधिक पूर्वाधार, डोमेन वा होस्टिङ प्रणालीसँग सम्बन्धित हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि, समस्या साइबर आक्रमणकै कारण भएको हो भन्ने पुष्टि भइसकेको छैन।
खोजीका क्रममा केही सरकारी वेबसाइटहरू भने सञ्चालनमा रहेको देखियो। गृह मन्त्रालयको वेवसाइट भने संचालनमा रहेको छ । नेपाल प्रहरी र नेपाली सेनाका वेवसाइटहरु पनि विना अवरोध चलिरहेका छन्। तर रक्षा मन्त्रालयको वेवसाइट भने अवरुद्ध छ। यसले सबै सरकारी वेबसाइट पूर्ण रूपमा बन्द नभई केही सरकारी निकाय वा साझा डिजिटल पूर्वाधारमा सीमित समस्या हुन सक्ने संकेत गरेको छ।
परराष्ट्र मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगका वेबसाइटमा नियमित रूपमा राहदानी, भिसा, कन्सुलर सेवा, नियुक्ति, सूचना, सम्पर्क विवरण र सार्वजनिक सूचना राखिन्छन्। ती वेबसाइटमा पहुँच नहुँदा विदेशमा रहेका नेपाली तथा नेपाल भ्रमणको तयारी गरिरहेका विदेशी नागरिकलाई आवश्यक जानकारी प्राप्त गर्न कठिनाइ हुन सक्छ।
विशेषगरी राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, कन्सुलर प्रमाणीकरण, भिसा आवेदन र दूतावासका सार्वजनिक सूचनासम्बन्धी जानकारीमा निर्भर सेवाग्राही प्रभावित हुन सक्नेछन्। तर वेबसाइटमा समस्या देखिए पनि दूतावास वा महावाणिज्यदूतावासका कार्यालयीय सेवा सञ्चालनमै रहेकाले सेवाग्राहीले सम्बन्धित नियोगको आधिकारिक फोन वा इमेलमार्फत सम्पर्क गर्नुपर्ने हुन्छ।





