२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

अमेरिकामा व्यक्तिगत डेटाका आधारमा फरक मूल्य तोक्ने कम्पनीहरूमाथि एफटीसीद्वारा कारबाहीको तयारी

Photo: Magnet.me/ Unsplash

सुरुआती विवरण अनुसार, ग्राहकहरूले कतिसम्म मूल्य तिर्न सक्छन् भन्ने अनुमानका आधारमा गोप्य रूपमा मूल्य बढाउने वा घटाउने कम्पनीहरूमाथि अब संघीय मुद्दा चल्न सक्ने भएको छ। अमेरिकाको फेडरल ट्रेड कमिसनले बुधबार जारी गरेको एक प्रस्तावित नीति अनुसार यो नियम ल्याउन लागिएको हो।

एफटीसीका अध्यक्ष एन्ड्र्यु फर्गुसनले भने, उपभोक्ताहरूले कुनै सामानको मूल्य देख्दा त्यो सबैका लागि एउटै होला भन्ने अपेक्षा गर्छन्। उनीहरूको व्यक्तिगत डेटाको आधारमा व्यापारीले निर्धारण गरेको मूल्य होस् भन्ने उनीहरू चाहँदैनन्।

एजेन्सीका अनुसार किराना पसल, कपडा कम्पनी तथा अन्य अनलाइन विक्रेताहरूले ग्राहकको लोकेसन, ब्राउजिङ इतिहास र सपिङ कार्टमा राखिएका सामानका आधारमा फरक-फरक मूल्य देखाउने गरेका छन्। नयाँ अभिभावकको रूपमा पहिचान भएका ग्राहकलाई सुरुमै महँगो थर्मोमिटर देखाइन सक्छ।

एफटीसीले यो अभ्यासलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने कानुनी अधिकार नभए पनि, यदि कम्पनीहरूले यसरी व्यक्तिगत डेटा प्रयोग गरेर मूल्य तोकिरहेका छन् भने त्यसको स्पष्ट जानकारी  ग्राहकलाई दिनुपर्ने प्रस्ताव गरेको छ। यसरी पूर्वजानकारी नदिई फरक मूल्य तोक्ने कम्पनीहरू एफटीसी ऐनको उल्लङ्घनका लागि दोषी ठहरिनेछन्।

यसैबीच, नेशनल रिटेल फेडरेशन र अन्य खुद्रा व्यापार समूहहरूले भने यस नीतिबारे समीक्षा भइरहेको बताएका छन्। उनीहरूले ग्राहकहरूलाई छुट र सुविधा दिने ‘लोयल्टी प्रोग्राम’ हरूको संरक्षण हुनुपर्नेमा जोड दिएका छन्। अर्कोतर्फ, ‘कन्सुमर रिपोर्टस्’ जस्ता उपभोक्ता अधिकारवादी संस्थाहरूले भने एफटीसीले केवल जानकारी गराउने नियम मात्र नल्याएर, यस प्रकारको मूल्य निर्धारण प्रविधिलाई पूर्ण रूपमा प्रतिबन्ध नै लगाउनुपर्ने माग गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।