आकाशमै जुध्न लागेका थिए अमेरिकन एयरलाइन्सका दुई विमान, कन्ट्रोलरको एउटा निर्णयले जोगियो दुर्घटना
Photo: Justin Hu/Unsplash
अमेरिकाको फिनिक्सस्थित विमानस्थलमा एयर ट्राफिक कन्ट्रोलरको शीघ्र निर्णय र कुशलताका कारण एउटै उडान नम्बर बोकेका अमेरिकन एयरलाइन्सका दुई विमान ठूलो दुर्घटना हुनबाट जोगिएका छन्।
शुक्रबार मध्यरातपछि घटेको यस घटनामा दुवै विमानको कल साइन ‘अमेरिकन २४८२’थियो। एउटा विमान सिकागोबाट फिनिक्स अवतरण गर्दै थियो भने अर्को विमान फिनिक्सबाटै उडान भरेर बाहिरिँदै थियो। आकाशमा दुवै विमान एकअर्कातर्फ नजिकिँदै गर्दा एउटै उडान नम्बरका कारण पाइलटहरूमा अन्यौल उत्पन्न भई ठोक्किने उच्च जोखिम बनेको थियो।
स्थितिको गम्भीरतालाई बुझ्दै २५ वर्षको अनुभव भएका एयर ट्राफिक कन्ट्रोलरले तत्कालै निर्देशन दिने तरिकामा परिवर्तन गरे। उनले दुवै विमानलाई स्पष्ट पार्न एउटालाई “अमेरिकन २४८२ आगमन र अर्कोलाई “अमेरिकन २४८२ प्रस्थान भनेर सम्बोधन गर्न थाले।
कन्ट्रोलरले अवतरण गर्दै गरेको विमानलाई माथिल्लो उचाइमा राखे भने उडान भर्दै गरेको विमानलाई धेरै माथि जान नदिई निश्चित उचाइमै रोक लगाए। यसका साथै दुवै विमानका पाइलटहरूलाई माइलौँ टाढा छँदै एक-अर्काको स्थितिबारे जानकारी गराएर सुरक्षित दूरी कायम राख्न सफल भए।
मैले एयर ट्राफिकमा काम गरेको २५ वर्ष भयो, तर एउटै कल साइन भएका दुई विमान यसरी आकाशमा एकै ठाउँ जुध्न थालेको कहिल्यै देखेको थिएन। यो निकै अद्भूत र चुनौतीपूर्ण क्षण थियो, दुर्घटना टरेपछि कन्ट्रोलरले भने।
सफलतापूर्वक अवतरण गरेपछि आगमन विमानका पाइलटले कन्ट्रोलरको उत्कृष्ट कार्यको प्रशंसा गरेका थिए। उत्तरमा कन्ट्रोलरले भने, यो एउटा भयावह दुर्घटना हुन सक्थ्यो, तर सबै कुरा सुरक्षित रूपमा समाधान भएकोमा खुसी छु।
हवाई सुरक्षाविज्ञ स्टिभ एरोयोका अनुसार यो घटना एयरलाइन्सको डिस्प्याच सेन्टरमा भएको प्राविधिक वा मानवीय त्रुटिको परिणाम हो। उडान नम्बर २४८२ सिकागो र फिनिक्सबीच नियमित रूपमा ओहोरदोहोर गर्ने ‘राउन्ड-ट्रिप’ उडान भएकाले सामान्यतया एउटै विमानले यो सेवा प्रदान गर्दै आएको थियो। तर, सिकागोबाट आउने विमान खराब मौसमका कारण ढिलाइ भएपछि अमेरिकन एयरलाइन्सले फिनिक्सबाट अर्को दोस्रो विमान प्रयोग गरी निर्धारित समयमै उडान भराएको थियो। यही क्रममा दुवै विमान एकै समयमा आकाशमा रहन पुगे र उडान नम्बर पनि एउटै राखिएकाले यो गम्भीर गडबडी उत्पन्न भएको हो।
यस घटनालाई लिएर संघीय उड्डयन प्रशासन र अमेरिकन एयरलाइन्सले गहन छानबिन सुरु गरिसकेका छन्। एयरलाइन्सले जारी गरेको वक्तव्यमा आफ्ना पाइलट र एयर ट्राफिक कन्ट्रोलरको उच्च व्यावसायिकताका कारण विमानहरूबीच आवश्यक दूरी कायम रहन सकेको र सम्भावित ठूलो क्षति टरेको जनाइएको छ।





