२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै अमेरिकाद्वारा ड्रोन आयातमा भारी कर वृद्धि

Photo: Karl Greif/ Unsplash

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ड्रोन तथा यसका पार्टपुर्जा आयातमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्। अमेरिका विदेशी स्रोतहरूमा अत्यधिक निर्भर रहेको र यसले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याएको उल्लेख गर्दै प्रशासनले यो कदम चालेको ह्वाइट हाउसले जनाएको छ।

ट्रम्पद्वारा हस्ताक्षरित घोषणापत्र अनुसार राष्ट्रिय सुरक्षाका दृष्टिले संवेदनशील मानिएका तथा निश्चित क्षमता र आकारका ड्रोनहरूमा १०० प्रतिशत सम्मको भन्सार शुल्क लगाइएको छ। त्यसैगरी, साना आकारका अन्य ड्रोनहरूमा २५ प्रतिशत भन्सार शुल्क तोकिएको छ।

अमेरिकाले आफ्ना केही प्रमुख मित्रराष्ट्रहरूबाट हुने ड्रोन तथा यसका पार्टपुर्जाको आयातमा भने केही खुकुलो र सहुलियतपूर्ण भन्सार दर निर्धारण गरेको छ। यस व्यवस्था अनुसार युरोपेली युनियन , जापान, दक्षिण कोरिया, स्विट्जरल्यान्ड, ताइवान र लिचेन्स्टाइनबाट आयात गरिने ड्रोन तथा यसका पार्टपुर्जाहरूमा १५ प्रतिशत भन्सार शुल्क तोकिएको छ।

यसैगरी, बेलायतबाट आयात हुने ड्रोन र तिनका उपकरणहरूका लागि भने १० प्रतिशत भन्सार शुल्क निर्धारण गरिएको छ। अन्य देशहरूको तुलनामा आफ्ना नजिकका सहयोगी तथा मित्रराष्ट्रहरूलाई व्यापारिक सहजता प्रदान गर्ने उद्देश्यले अमेरिकाले यो खुकुलो दर लागू गरेको हो।

वाणिज्य मन्त्री हावर्ड लुटनिकले गरेको अध्ययन प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपति ट्रम्पले भने, अमेरिकी बजारमा विदेशी ड्रोनको पैठारी अत्यधिक छ र अमेरिका विदेशी आपूर्तिमा धेरै निर्भर भइसकेको छ। यसले सुरक्षा जोखिम बढाउनुका साथै घरेलु उत्पादन क्षमताले राष्ट्रिय आवश्यकता धान्न नसकेको देखिएको छ।”

नयाँ तोकिएको भन्सार शुल्क फरक-फरक चरणमा लागू हुने व्यवस्था गरिएको छ। मुख्य ड्रोनहरूको हकमा घोषणा भएको २१ दिनभित्रै नयाँ शुल्क लागू हुनेछ भने गैर-संवेदनशील पार्टपुर्जाहरूको हकमा हस्ताक्षर भएको १८० दिनपछि लागू हुनेछ। त्यस्तै, हस्ताक्षर भएको २० दिनभित्र पेन्टागनबाट सङ्घीय सञ्चार आयोगको ‘कभर्ड लिस्ट’ बाट छुट प्राप्त सामाग्रीहरूमा पनि १८० दिनपछि नै नयाँ दर लागू गरिनेछ।

कानुनी अड्चन र आर्थिक विश्लेषकहरूको निरन्तर आलोचनाका बाबजुद राष्ट्रपति ट्रम्पले भन्सार शुल्क वृद्धिलाई आफ्नो वैदेशिक तथा व्यापार नीतिको प्रमुख आधारस्तम्भ बनाउँदै आएका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।