ट्रम्पद्वारा बालबालिकाको खोप तालिका फेरबदल गर्ने कार्यकारी आदेशमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : म्याट राउर्के/एपी-रासस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बालबालिकालाई दिइने खोपहरूको तालिका फेरबदल गर्न आह्वान गर्दै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। लामो समयदेखि विवादित बन्दै आएको र वैज्ञानिक रूपमा अस्वीकृत सिद्धान्तलाई प्रोत्साहन गर्दै ट्रम्पले बालबालिकालाई दिइने खोपहरू एकैपटक नदिई पटक-पटक गरी अलग-अलग स्वास्थ्य भ्रमणका क्रममा दिनुपर्ने तर्क अघि सारेका छन्।
यस आदेशले दादुरा, ठेउला र रुबेलाका लागि दिइने संयुक्त ‘एमएमआर’ खोपलाई तीनवटा अलग-अलग खोपमा विभाजन गर्न र बालबालिकालाई सकभर भिन्दाभिन्दै समयमा खोप दिन सिफारिस गरेको छ। आदेशमा अमेरिकी हेल्थ डिपार्टमेन्टलाई खोपसम्बन्धी अनुसन्धानमा सुधार गर्न र अलग-अलग खोप उपलब्ध गराउने योजना प्रस्तुत गर्न निर्देशन दिइएको छ। हाल अमेरिकामा दादुरा, मम्प्स र रुबेलाका लागि अलग-अलग खोपको विकल्प उपलब्ध छैन।
नोभेम्बरको मध्यावधि चुनावअघि ट्रम्प प्रशासनले हालैका दिनहरूमा अघि सारेका स्वस्थ खानपान, औषधि मूल्य नियन्त्रण र स्वास्थ्य क्षेत्रका ठगी नियन्त्रण जस्ता तुलनात्मक रूपमा कम विवादित नीतिहरूभन्दा फरक शैली अपनाउँदै खोप विषयलाई पुनः प्राथमिकतामा राखेको छ।
सार्वजनिक स्वास्थ्य विशेषज्ञहरूले भने खोप दिने समय लम्ब्याउँदा अर्को पटक खोप लगाउन जानुभन्दा अघि नै बालबालिका रोगबाट सङ्क्रमित हुने जोखिम बढ्ने भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। बालबालिकाका खोपहरू र तिनीहरूको संयुक्त प्रयोगको विधिबारे वर्षौँसम्म गहन अध्ययन र सुरक्षा अनुगमन गरिसकिएपछि मात्रै सिफारिस गर्ने गरिन्छ।
ट्रम्पले भने यस घोषणालाई “अभिभावकको अधिकार, धार्मिक तथा संवैधानिक अधिकार, र सर्वोत्कृष्ट विज्ञानको ठूलो विजय” भनेका छन्।
सोमबार ओभल अफिसमा बोल्दै ट्रम्पले खोपको सङ्ख्या वा तालिकाले बालबालिकामा अटिजम सम्बन्धी समस्या बढाउन भूमिका खेल्ने दाबी दोहोऱ्याएका छन्। यद्यपि दशकौँका वैज्ञानिक अध्ययन र विशेषज्ञहरूको सर्वसम्मत निष्कर्षले खोप र अटिजमबीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारिसकेका छन्।
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सका अध्यक्ष डा. एन्ड्र्यु रेसिनले यस घोषणाले अनावश्यक रूपमा अन्योल, डर र भ्रम फैलाएको बताए। “खोप र यसको प्रभावकारितासम्बन्धी विज्ञान परिवर्तन भएको छैन,” उनले भने, “विगत ४८ घण्टामा हाम्रा बालबालिका वा वातावरणीय जीवाणुहरूमा कुनै बदलाव आएको छैन।”
सेनेटर बिल क्यासिडीले पनि सो कार्यकारी आदेशको आलोचना गर्दै राष्ट्रपतिसँग यस्ता प्राविधिक परिवर्तन गर्ने विज्ञता नरहेको र खोपहरू पूर्ण रूपमा सुरक्षित रहेको बताए।
सङ्घीय सरकारले खोपको नयाँ तालिका सिफारिस गरे पनि विद्यालय जाने बालबालिकाका लागि खोप अनिवार्य गर्ने अधिकार सङ्घीय सरकारसँग नभई राज्य सरकारहरूसँग हुन्छ। ह्वाइट हाउसको तथ्यपत्रअनुसार, यो आदेशले खोप अनिवार्य गरेका राज्यहरूलाई नयाँ सिफारिसअनुसार कानुन परिमार्जन गर्न सुझाव दिएको छ।
अमेरिकामा बालबालिकाको खोप तालिकामा परिवर्तन गर्न सामान्यतया रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशकको स्वीकृति आवश्यक पर्छ। हालै नियुक्त सिडिसीका निर्देशक डा. एरिका श्वार्ट्जले यसअघि तटरक्षक बलमा रहँदा सैनिकहरूलाई खोप लगाउने नीतिको नेतृत्व गरेका थिए।
स्वास्थ्यमन्त्री रोबर्ट एफ. केनेडी जुनियरले आफ्नो कार्यकालको पहिलो वर्षमै हेल्थ डिपार्टमेन्टको खोपसम्बन्धी मार्गदर्शनमा हेरफेर गर्ने प्रयास गरेका थिए। उनले अटिजम र खोपबीच कुनै सम्बन्ध छैन भन्ने सिडिसीको पुरानो धारणालाई बिना कुनै नयाँ प्रमाण हटाउन निर्देशन दिएका थिए।
अमेरिकी खोप दर घट्दै गएको र दादुराको प्रकोप पुनः देखा परेको संवेदनशील समयमा राष्ट्रपति ट्रम्पको यो कदम आएको छ, जसले खोपप्रति सर्वसाधारणको अविश्वास अझ बढाउन सक्ने डाक्टरहरूले चेतावनी दिएका छन्।





