२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

उच्च गतिका इ-बाइक बिक्री रोक्न मेयर ममदानीको कडा कदम,४० कम्पनीलाई चेतावनी पत्र

Photo: Varla Scooter/ Unsplash

न्यूयोर्क सहरका मेयर जोहरान ममदानीले अवैध तथा प्रतिबन्धित मोटरयुक्त स्कुटर र ई-बाइकको बिक्री रोक्न पठाएको कडा निर्देशनपछि अनलाइन व्यापारिक दिग्गज अमेजनले ती उत्पादनहरूमाथि छानबिन गर्ने प्रतिबद्धता जनाएको छ।

मेयर ममदानीले अमेजन, वालमार्ट, टार्गेट, टेमु र वेफेयरसहित ४० वटा प्रमुख अनलाइन खुद्रा विक्रेताहरूलाई न्यूयोर्कवासी तथा स्थानीय व्यवसायीहरूलाई गैरकानुनी सवारी साधनको बिक्री तत्काल बन्द गर्न निर्देशन दिएका हुन्। आगामी अगस्ट १८ सम्ममा यो नियम पालना नगर्ने खुद्रा विक्रेताहरूलाई प्रति-उल्लङ्घन २,००० अमेरिकी डलरसम्म जरिवाना गराइने चेतावनी मेयरले दिएका छन्।

अनलाइन बजारमा उपलब्ध कतिपय इ-बाइक र स्कुटरहरूले स्थानीय कानुनले तोकेको गति र क्षमता भन्दा बढी गति प्रदान गर्ने भएकाले तिनलाई प्रतिबन्धित गरिएको हो। साथै, धेरैजसो म्याद नाघेका वा नियमविपरीतका मोपेडहरूमा सवारी पहिचान नम्बर समेत नभएको पाइएको छ।

न्यूयोर्क सहरमा इ-बाइकको अधिकतम गति सीमा सामान्यतः १५ देखि २५ माइल प्रतिघण्टा तोकिएको छ। स्कुटरको तौल १०० पाउन्डभन्दा कम र गति २० माइल प्रतिघण्टाभन्दा बढी हुनुहुँदैन। यातायात आयुक्त माइक फ्लिनले भने, खुद्रा विक्रेताहरूले मोटरसाइकल सरहका उच्च गतिका सवारी साधनहरूलाई साधारण साइकलका रूपमा प्रचार-प्रसार गरी सर्वसाधारणलाई बेचिरहेका छन्।

यो कदम तल्लो म्यानहटनमा १७ वर्षीय किशोर ग्याब्रिएल नाकाटोको इ-बाइक दुर्घटनामा परेर ज्यान गएको एक सातापछि चालिएको हो। मेयर ममदानीका अनुसार, ती किशोरले चलाइरहेको इ-बाइक प्रतिघण्टा ३० माइलभन्दा बढीको गतिमा गुड्न सक्ने क्षमताको थियो-जुन सहरका साइकल लेनहरूका लागि अत्यन्तै असुरक्षित मानिन्छ।

अमेजनका प्रवक्ताले सञ्चारमाध्यमसँग कुरा गर्दै कम्पनीले प्रश्न उठाइएका सवारी साधनहरूको विस्तृत छानबिन गर्ने र सहर प्रशासनसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। सुरक्षा हाम्रो मुख्य प्राथमिकता हो। हाम्रा प्लेटफर्ममार्फत बिक्री हुने इ-बाइकहरूले तोकिएको सुरक्षा मापदण्ड र नीतिहरू पूरा गरेको हुनुपर्छ, प्रवक्ताले भने।

यस विषयमा अर्को प्रमुख खुद्रा विक्रेता ‘टार्गेट’ले भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।