अमेरिकाको वासिङ्टन राज्यमा भिषण डढेलो: राज्यभर आपत्काल घोषणा, हजारौँ घर जोखिममा
Photo: Mike Newbry/ Unsplash
अमेरिकाको वासिङ्टन राज्यस्थित स्पोकेन सहर र यस वरपरका क्षेत्रमा द्रुत गतिमा डढेलो फैलिएपछि ठूलो सङ्ख्यामा बासिन्दाहरूलाई तत्काल घर छाडेर सुरक्षित स्थानमा जान कडा चेतावनी जारी गरिएको छ।
सहर वरपर फैलिएका तीन ठूला डढेलोमध्ये ‘ओल्ड ट्रेल’ नाम दिइएको डढेलोले सबैभन्दा ठूलो जोखिम निम्त्याएको छ। शनिबार दिउँसोदेखि सुरु भएको यो डढेलोले आइतबार बिहानसम्म ३,५०० एकडभन्दा बढी भूभाग जलिसकेको छ। अवस्था नियन्त्रणबाहिर जान थालेपछि स्थानीय प्रशासनले स्पोकेनका धेरै भागहरूमा ‘लेभल ३‘को आपत्कालीन स्थानान्तरण आदेश जारी गरेको छ, जसको अर्थ “तुरुन्तै यो क्षेत्र छाड्नुहोस्, यो नै तपाईंको अन्तिम सूचना हुन सक्छ” भन्ने हुन्छ।
स्थिति गम्भीर बनेपछि शनिबार राति वासिङ्टन नेसनल गार्डका सदस्यहरूलाई परिचालन गरिएको छ। वासिङ्टनका गभर्नर बब फर्गुसनले राज्यभर ‘डढेलो आपत्काल’ को घोषणा गर्दै खुला ठाउँमा आगो बाल्न पूर्ण प्रतिबन्ध लगाएका छन्।
वासिङ्टन प्राकृतिक स्रोत विभागका अनुसार रिभरसाइड स्टेट पार्क क्षेत्रमा फैलिएको डढेलोले व्यापक क्षति पुर्याउने खतरा बढाएको छ। उक्त डढेलोका कारण त्यस क्षेत्रका करिब ५,००० भन्दा बढी घर तथा अन्य भौतिक संरचनाहरू प्रत्यक्ष जोखिममा परेका छन्।
यसैबिच, कडा हावाहुरी र तीव्र गतिमा फैलिएको आगोका कारण क्षेत्रको विद्युत् आपूर्ति व्यवस्था पूर्ण रूपमा अस्तव्यस्त बनेको छ। डढेलोका कारण स्पोकेन काउन्टीका मात्रै ८,००० भन्दा बढी ग्राहक प्रभावित भएका छन् भने राज्यभर गरी करिब ११,००० भन्दा बढी घरपरिवारको विद्युत् सेवा पूर्ण रूपमा ठप्प भएको छ।
आगोको उच्च जोखिमका कारण आफ्नो घर छाड्न बाध्य भएका विस्थापित नागरिकहरूका लागि स्थानीय प्रशासनले आपत्कालीन राहत र बासको व्यवस्था गरेको छ। यसैक्रममा विस्थापितहरूलाई सुरक्षित राख्न स्पोकेन सहरको कन्भेन्सन सेन्टरलाई अस्थायी आश्रयस्थलका रूपमा प्रयोगमा ल्याइएको छ।
यस वर्ष राज्यमा परेको कीर्तिमानी खडेरी, लगातारको उच्च तापमान र तीव्र गतिमा चलेको हावाहुरीका कारण आगो नियन्त्रणमा लिन अग्निझापकहरूलाई निकै चुनौती भइरहेको छ। अधिकारीहरूका अनुसार सन् २०२१ यताकै यो सबैभन्दा भयावह डढेलो सिजन बनेको छ, जहाँ यसै वर्ष हालसम्म १,००० भन्दा बढी स्थानमा डढेलो लागेर ४ लाख २५ हजार एकडभन्दा बढी क्षेत्र प्रभावित भइसकेको छ।





