अमेरिकी राज्य युटामा जन्मदर इतिहासकै तल्लो विन्दुमा: महँगो आवास र शिशु स्याहार मुख्य कारण
Photo: Solen Feyissa/ Unsplash
अमेरिकी राज्य युटामा परिवारहरूले बच्चा जन्माउने दर इतिहासकै सबैभन्दा तल्लो विन्दुमा पुगेको छ। बढ्दो घरजग्गाको मूल्य, महँगो शिशु स्याहार, विवाहमा ढिलाइ र बदलिँदो सामाजिक दृष्टिकोणका कारण जन्मदर लगातार घट्दै गएको अनुसन्धानकर्ताहरूले बताएका छन्।
युटा विमेन एन्ड लिडरसिप प्रोजेक्ट’की संस्थापक डा. सुजन म्याडसनले युटाको जन्मदर सन् २००७-२००८ तिर उत्कर्षमा पुगेर त्यसयता निरन्तर घटिरहेको जानकारी दिएकी छन्। पछिल्लो एक दशकमा भने यो गिरावट अझ तीव्र बनेको छ।
समयसँगै धेरै कुराहरू बदलिएका छन्, डा. म्याडसनले भनिन्, घरको बढ्दो मूल्य र शिशु स्याहारको उच्च खर्च जस्ता कारणहरूले दम्पतीहरूलाई बच्चा जन्माउने निर्णयमा प्रत्यक्ष असर पारिरहेको छ।
युटा राज्य लामो समयदेखि अमेरिकामा सबैभन्दा बढी जन्मदर भएका राज्यहरूमध्ये एक मानिन्थ्यो। तर, पछिल्ला वर्षहरूमा यो अन्तर निकै साघुँरिएको छ। उक्त प्रोजेक्टको प्रतिवेदन अनुसार पछिल्लो ५० वर्षमा युटाहको कूल प्रजनन दर ४५ प्रतिशतले घटेको छ, जबकि अमेरिकाको राष्ट्रिय औसत गिरावट ३६ प्रतिशत मात्र छ।
राष्ट्रिय औसतको तुलनामा युटाहका दम्पतीहरू अझै पनि कम उमेरमै अभिभावक बन्ने गरे तापनि पहिलोपटक विवाह गर्ने र सन्तान जन्माउने औसत उमेर निरन्तर बढ्दै गएको छ। यसले गर्दा दम्पतीहरूसँग बच्चा जन्माउने उमेर कम हुने र परिवारको आकार सानो बन्ने गरेको छ।
यसैगरी, सांस्कृतिक र धार्मिक प्रभावमा आएको परिवर्तनलाई पनि यसको अर्को कारण मानिएको छ। युटाहको परम्परागत ‘ल्याटर-डे सेन्ट्स’ र रुढिवादी संस्कृतिले विगतमा ठूला परिवारलाई प्रोत्साहन गर्ने गरे पनि नयाँ पुस्ताले धेरै बच्चा जन्माउनुपर्ने सामाजिक दबाब महसुस नगरेको डा. म्याडसनको भनाइ छ।
केही परिवारहरू अझै पनि धेरै सन्तान चाहन्छन्, तर बढ्दो जीवनयापन खर्च का कारण उनीहरू बाध्य भएर रोकिनुपरेको छ, उनले थपिन्।
युटाका धेरैजसो क्षेत्रमा शिशु स्याहार केन्द्रको अभाव, लामो पर्खाइ र उच्च शुल्क प्रमुख समस्याका रूपमा देखा परेका छन्। युटाका कतिपय ग्रामीण काउन्टीहरूमा त इजाजतपत्र प्राप्त एउटै पनि शिशु स्याहार केन्द्र उपलब्ध छैनन्, जसका कारण अभिभावकहरूलाई पुनः रोजगारीमा फर्कन समस्या भइरहेको छ।
समस्या समाधानका लागि युटामा पर्याप्त मात्रामा लचिलो आंशिक रोजगारी, तलबी पारिवारिक बिदा र कार्यस्थलका सहज नीतिहरू आवश्यक रहेको बताइएको छ। जन्मदर घट्दै जाँदा भविष्यमा युटाका सार्वजनिक विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घट्ने र विद्यालयहरू गाभिन सक्ने चेतावनी समेत दिइएको छ।





