फ्रान्स र स्पेनमा डढेलोको ताण्डव: २ लाख ६० हजारभन्दा बढी मानिस विस्थापित
Photo: Matt Palmer/ Unsplash
दक्षिण युरोपमा फैलिएको अभूतपूर्व डढेलोका कारण फ्रान्स र स्पेनको जनजीवन अस्तव्यस्त बनेको छ। अत्यधिक गर्मी र खडेरीका कारण द्रुत गतिमा फैलिरहेको आगो नियन्त्रणबाहिर गएपछि दुवै देशका अधिकारीहरूले २ लाख ६० हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित स्थानमा सारेका छन्।
फ्रान्सको दक्षिण-पश्चिमी जिरोन्ड र ल्यान्ड्स क्षेत्रमा डढेलोले भीषण रूप लिएको छ। हालसम्म करिब १ लाख ९७ हजार मानिसहरूलाई स्थानान्तरण गरिएको छ। फ्रान्सको प्रमुख शहर बोर्डोको विमानस्थल क्षेत्र तथा आसपासका बस्तीहरू शनिवार बिहान खाली गराइएको छ। यस वर्ष फ्रान्समा मात्रै करिब ९८,००० हेक्टर वन क्षेत्र जलेर नष्ट भइसकेको छ।
स्पेनको राजधानी म्याड्रिड र आविला प्रान्त नजिकका क्षेत्रमा डढेलो फैलिएपछि सरकारले राष्ट्रिय आपतकाल घोषणा गरेको छ। ७०,००० भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने २०,००० भन्दा बढी नागरिकहरूलाई घरभित्रै बस्न निर्देशन दिइएको छ। स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले नागरिकको ज्यान जोगाउनु नै पहिलो प्राथमिकता भएको बताउनुभएको छ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेनका अनुसार आगो नियन्त्रणका लागि फ्रान्स र स्पेनमा ११ वटा अग्निनियन्त्रक विमान तथा हेलिकप्टरहरू परिचालन गरिएको छ।
युरोपेली वातावरण एजेन्सीका अनुसार युरोप विश्वका अन्य महाद्वीपभन्दा दोब्बर तीव्र गतिमा तातिरहेको छ। सुख्खा मौसम, तातो हवा र तीव्र हावाहुरीका कारण डढेलो थप तीव्र बनेको छ।





