आप्रवासीद्वारा सवारी साधनमार्फत आक्रमण गरिएका दाबीहरू असत्य, अधिकांश मुद्दा अदालतबाट खारेज
तस्वीर : आइस
अमेरिकी प्रशासनले आप्रवासी तथा प्रदर्शनकारीहरूले सङ्घीय आप्रवासन अधिकारीहरूमाथि सवारी साधनमार्फत आक्रमण गरेको भन्दै आएको दाबी झूटा ठहरिएको छ। डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका अधिकांश दाबीहरू अनुसन्धान र अदालती फैसलापछि गलत साबित भएका हुन्।
होमल्यान्ड सेक्युरिटीले सवारी साधनमार्फत भएका आक्रमणको प्रमाणका रूपमा प्रस्तुत गरेका २६ वटा घटनाको अध्ययन गर्दा केवल एक जना मात्रै आक्रमणको आरोपमा दोषी ठहरिएका छन्। बाँकी अधिकांश घटनामा प्रमाण नपुगेपछि कि त मुद्दा नै दर्ता गरिएन, कि त अदालतले मुद्दा खारेज गरिदियो।
होमल्यान्ड सेक्युरिटीले सार्वजनिक गरेको सूचीका २६ अभियुक्तमध्ये १५ जनामाथि कहिल्यै पनि सङ्घीय आपराधिक मुद्दा चलाइएन। मुद्दा चलाइएका ११ जनामध्ये ८ जनाको मुद्दा अदालतले खारेज गर्यो।
केवल १ जनाले सवारी साधनबाट आक्रमण गरेको स्वीकार गरे भने अर्का १ जना सरकारी सम्पत्ति तोडफोडमा दोषी ठहरिए। मुठभेडका क्रममा अधिकारीहरूले ५ जनामाथि गोली चलाएका थिए, जसमध्ये १ जनाको ज्यान गएको थियो।
होमल्यान्ड सेक्युरिटीले सवारी साधनबाट हुने आक्रमणमा ३,३०० प्रतिशतले वृद्धि भएको दाबी गरे पनि त्यसको समर्थनमा कुनै ठोस प्रमाण प्रस्तुत गर्न सकेको छैन।
अदालतमा मुद्दा खारेज हुनुका कारणहरूमा आप्रवासन अधिकारीहरूको बाझिएको बयान, प्रमाण बुझाउन नसक्नु र भिडियो प्रमाणले सरकारी दाबीलाई गलत साबित गरेका छन्। क्यालिफोर्निया, इलिनोय, मिनेसोटा, एरिजोनाजस्ता राज्यहरूमा यस्ता मुद्दाहरू खारेज भएका छन्।
कानुन व्यवसायी तथा अधिकारकर्मीहरूका अनुसार आप्रवासीहरूलाई हिंस्रक देखाउन र आइसले गर्ने अत्यधिक बल प्रयोग तथा प्राणघातक गोलीकाण्डलाई जायज ठहराउन प्रशासनले यस्ता आधारहीन आरोपहरू प्रयोग गर्दै आएको छ।





