पूर्व अध्यागमन वकिल अलेक्ज्यान्ड्रा लोजानोविरुद्ध नयाँ मुद्दा: ४०० मिलियन डलरभन्दा बढी आम्दानी र निजी जेट कब्जाको माग
Photo: Nicholas Santoianni/ Unsplash
अमेरिकाको वासिङ्टन राज्यमा आधारित पूर्व अध्यागमन वकिल अलेक्ज्यान्ड्रा लोजानोविरुद्ध अदालतमा थप नयाँ र गम्भीर आरोपहरू दर्ता गरिएका छन्। वेस्टर्न वासिङ्टनको फेडरल अदालतमा मङ्गलबार दर्ता गरिएको ११६ पृष्ठ लामो संशोधित उजुरी अनुसार, लोजानोले गैरकानुनी तथा भ्रामक तरिकाले हजारौँ आप्रवासी ग्राहकहरूबाट ४०० मिलियन डलर (करिब ५३ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी संकलन गरेको वा भुक्तानीको वाचा गराएको खुलासा भएको छ।
विभिन्न ट्रस्ट र कम्पनीहरूको सञ्जालमार्फत लोजानोले २५ मिलियन डलर (करिब ३ अर्ब ३० करोड नेपाली रुपैयाँ) मूल्यको ‘बोम्बार्डियर’ निजी जेटका साथै मेक्सिकोलगायतका स्थानमा करोडौँ डलरका घरजग्गा जोडेको उजुरीमा उल्लेख छ। गुलाबी र सेतो रङको उक्त निजी जेटमा स्पेनिस भाषामा वकिल बुझाउने शब्द “अबोगादा” र लोजानोको अनुहारसँग मिल्दो लोगो राखिएको छ।
अदालतमा मुद्दा दायर गर्ने ३४ जना पूर्व ग्राहकका तर्फबाट लडिरहेका वकिलहरूले ती सम्पूर्ण सम्पत्तिहरू कब्जा गरी पीडित ग्राहकहरूको हितका लागि ट्रस्टमा राख्न माग गरेका छन्। गत मे महिनामा मुद्दा सुरु भएयता करिब २,५०० जना पूर्व ग्राहकहरूले कानुनी टोलीसँग सम्पर्क गरिसकेका छन्।
लोजानोले झुटा विवरण र अनुचित हस्ताक्षर प्रयोग गरी ग्रीन कार्ड तथा अन्य अध्यागमन सुविधाका लागि आवेदन दर्ता गराएको आरोप छ। राज्य बारका अनुसार गत मार्च महिनासम्म उनको हस्ताक्षरमा परेका करिब ५४,००० निवेदनहरू राष्ट्रिय स्तरमा विचाराधीन थिए। कानुनी रूपमा योग्य नै नभएका व्यक्तिहरूको समेत निवेदन हालेर रकम असुलिएका कारण धेरै आप्रवासीहरू अहिले देश निकालाको जोखिममा परेका छन्।
गत मे २६ मा अनुशासन सम्बन्धी कारबाहीबाट बच्न लोजानोले आफ्नो वकालत लाइसेन्स त्यागेकी थिइन्। तर, राज्यको कानुन उल्लङ्घन गर्दै उनले लाइसेन्स रद्द भएपछि पनि आफ्नो फर्म नियन्त्रणमा राखेको र त्यसको दुई हप्तापछि अचानक फर्म बन्द गराएको नयाँ आरोप थपिएको छ।
लोजानोका मुख्य कानुनी प्रतिनिधि एन्जेलो काल्फोले पहिले आफ्नी ग्राहकले सधैँ कानुनको परिधिभित्र रहेर सेवा दिएको दाबी गरे तापनि पछिल्ला आरोपहरूबारे कुनै प्रतिक्रिया दिएका छैनन्। हाल लोजानो वासिङ्टन क्षेत्र छाडेर अज्ञात स्थलतर्फ लागेको बताइएको छ।
डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र राज्यका महान्यायाधिवक्ताले उनीमाथि अनुसन्धान तीव्र बनाएका छन् भने अलपत्र परेका आप्रवासीहरूलाई सहयोग गर्न स्थानीय अन्य वकिलहरूले नि:शुल्क परामर्श शिविरहरू सञ्चालन गरिरहेका छन्।





