परिवारमा आधारित सबै श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने र पाउने मितिमा अग्रता
मंगलबार सार्वजनिक अगस्त २०२६ को भिसा बुलेटिनअनुसार परिवारमा आधारित सबै श्रेणीका ग्रिनकार्डका लागि फाइल गर्ने र भिसा पाउने मितिमा अग्रता कायम भएको छ । अमेरिकाभित्र रहेका आवेदकका लागि ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरीको फाइल गर्ने मिति अघिल्ला महिनाजस्तै अगस्तमा पनि करेन्ट नै रहने भएको छ। यसको अर्थ, यस श्रेणीका आवेदकहरूले आफ्नो प्राथमिकता मिति जुनसुकै भए पनि समायोजनका लागि आवेदन दिन सक्नेछन्।
अमेरिकी नागरिकका अविवाहित छोराछोरीका लागि ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मिति जुलाईका लागि १ जनवरी २०१९ रहेकोमा अगस्ताका लागि अग्रता कायम भई १५ जुन २०१९ भएको छ । त्यसैगरी, २१ वर्षमाथिका अविवाहित छोराछोरीको ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि अग्रता कायम भई १ जनवरी २०१९ कायम भएको छ ।
अमेरिकी नागरिकका विवाहित छोराछोरीको हकमा ग्रिनकार्ड फाइल गर्ने मितिमा पनि अग्रता कायम भई अगस्तका लागि १ मार्च २०१३ कायम भएको छ । दाजुभाइ तथा दिदीबहिनीको ग्रिनकार्ड फाइल गर्ने प्राथमिकता मितिमा पनि अगस्ता अग्रता कायम भई २२ जुन २०१० पुगेको छ ।
भिसा अन्तर्वार्ता वा ग्रिनकार्ड जारी हुने अन्तिम निर्णय मितिमा पनि सबै श्रेणीमा अग्रता कायम भएको छ। अमेरिकी नागरिकका अविवाहित छोराछोरीको प्राथमिकता मिति १५ डिसेम्बर २०१८ पुगेको छ भने २१ वर्षमाथिका अविवाहित छोराछोरीको श्रेणीमा पनि प्राथमिकता मितिमा अग्रता कायम भई १ जनवरी २०१८ पुगेको छ ।
अमेरिकी नागरिकका विवाहित छोराछोरी श्रेणीमा पनि अगस्तमा अग्रता कायम भई १५ मे २०१२ पुगेको छ। दाजुभाइ तथा दिदीबहिनी श्रेणीमा अगस्तमा अग्रता कायम भई १ सेप्टेम्बर २००९ पुगेको छ। ग्रिनकार्डवाहकका दम्पती र २१ वर्षमुनिका छोराछोरी श्रेणीको अन्तिम निर्णय मितिमा पनि अग्रता कायम भई २२ जुलाई २०२६ पुगेको छ ।
जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ देशका नागरिकका आप्रवासी भिसा प्रक्रियामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायतका सबै प्रक्रिया पूरा भए पनि भिसा जारी गरिएको छैन। त्यसकारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू पनि भिसा लिएर अमेरिका आउन पाएका छैनन्। जनवरी २१ अघि भिसा प्राप्त गरिसकेकाहरूलाई भने अमेरिका आउन रोक लगाइएको छैन।





