२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

टेक्सासको आप्रवासी केन्द्रमा बालबालिकामाथि दुर्व्यवहार, कानुनी सीमा नाघेर ३२३ दिनसम्म हिरासतमा

Texas immigration detention center

अमेरिकी राज्य टेक्सासको डिलेमा स्थित ‘साउथ टेक्सास फेमिली रेसिडेन्सियल सेन्टर’ मा आप्रवासी बालबालिकाहरूलाई तोकिएको कानुनी सीमाभन्दा धेरै लामो समयसम्म हिरासतमा राखिएको र उनीहरूमाथि गम्भीर दुर्व्यवहार भइरहेको खुलासा भएको छ।

अदालतमा दर्ता गरिएको नयाँ कानुनी निवेदन अनुसार,डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र आइसले बालबालिकाहरूलाई २० दिनको कानुनी सीमा नाघेर ३२३ दिनसम्म कैदमा राखेको पाइएको छ। यो ‘फ्लोरेस सम्झौता’को प्रत्यक्ष उल्लङ्घन हो, जसले बालबालिकालाई २० दिनभन्दा बढी हिरासतमा राख्न प्रतिबन्ध लगाउँछ।

२ महिनाको शिशुलाई कोभिड-१९ सङ्क्रमित अन्य बिरामीसँग राख्दा श्वासप्रश्वासको गम्भीर समस्या भएको, एपेन्डिसाइटिस भएका बालकलाई नाटक गरेको भन्दै आपतकालीन उपचारमा ढिलाइ गरिएको र हर्सस्प्रुङ रोगबाट पीडित एक बालिकालाई ३४ दिनसम्म दिसा नहुँदासम्म उचित उपचार नदिइएको जस्ता गम्भीर लापरवाही देखिएका छन्।

बालबालिकाहरू हाँस्दा वा खेल्दा सुरक्षाकर्मीहरूले कराउने, रङ्गभेदी गालीगलौज गर्ने र उनीहरूले बनाएका चित्रहरू च्यातिदिने गरेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। एक घटनामा, बालबालिकाको चित्र च्यातिएको विरोध गर्दा सुरक्षाकर्मीहरूले आमा र छोरीलाई हातपात तथा धक्कामुक्का समेत गरेका थिए।

पुरुष सफाइ कर्मचारीहरू किशोरीहरू नाङ्गो भई नुहाइरहेको बाथरुममा पटक-पटक प्रवेश गरेको र यसबारे उजुरी गर्दा उल्टै ती किशोरीहरूलाई नै शारीरिक तथा मानसिक परीक्षण गराएर मानसिक यातना दिइएको उल्लेख छ।

‘कोरसिभिक’ नामक निजी कारागार कम्पनीद्वारा सञ्चालित यस केन्द्रबारे सार्वजनिक गरिएको वार्षिक प्रतिवेदनमा हिरासतमा रहेका बालबालिकाको वास्तविक सङ्ख्या र अवधि लुकाउन खोजिएको र फरक-फरक प्रतिवेदनमा बाझिने तथ्याङ्क प्रस्तुत गरिएको पाइएको छ।

मानव अधिकारवादी तथा कानुनी विशेषज्ञहरूका अनुसार बालबालिकालाई यसरी अमानवीय र गैरकानुनी रूपमा लामो समय थुनामा राख्दा उनीहरूको शारीरिक र मानसिक विकासमा जीवनभरका लागि गम्भीर क्षति पुगिरहेको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।