विदेश पठाइदिने प्रलोभनमा ५७ लाख ठगी, सातजना पक्राउ
वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिन्छु भन्दै झन्डै ५७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आकर्षक रोजगारीको प्रलोभनमा पारेर सर्वसाधारणबाट लाखौँ रकम ठगी गर्ने उनीहरूलाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा अर्घाखाँचीका २८ वर्षीय सन्तोष अधिकारी, दाङका २९ वर्षीय हेमन्त केसी, सुनसरीका ४२ वर्षीय सुकदेव राई, सुनसरीकै ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका ४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलाम रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिए।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै १३ लाख ३० हजार, सुकदेवले सर्बिया पठाइदिन्छु भन्दै १३ लाख, मनिषले बेलायत पठाइदिन्छु भन्दै दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले बेलायत पठाइदिन्छु भन्दै १२ लाख ६३ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले जानकारी दिए।





