विवादका बीच ट्रम्प प्रशासनद्वारा १.८ अर्ब डलरको कोष योजना खारेज


प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलबार

अमेरिकी राष्ट्रपति ट्रम्प । तस्वीर : एलेक्स ब्रान्डन/एपी-रासस

अमेरिकी ट्रम्प प्रशासनले १ अर्ब ८० करोड डलरको क्षतिपूर्ति कोष स्थापना गर्ने योजना रद्द गरेको घोषणा गरेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले राजनीतिक प्रतिशोधमा परेका समर्थकहरूलाई क्षतिपूर्ति दिन प्रस्ताव गरेको १ अर्ब ८० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने योजना रद्द गरेको हो।

कार्यवाहक महान्यायाधिवक्ता टड ब्लाञ्चले सांसदहरूसमक्ष बोल्दै यो कोष अगाडि बढाउने योजना त्यागेको बताए। उक्त कोष ट्रम्पले अमेरिकी राजस्व सेवा विरुद्ध दायर गरेको मुद्दाको सम्झौता समाधानका क्रममा घोषणा गरिएको थियो। त्यो मुद्दा ट्रम्पका करसम्बन्धी विवरणहरू सार्वजनिक रूपमा चुहिएको विषयसँग सम्बन्धित थियो।

तर, यस योजनाले डेमोक्र्याट तथा केही रिपब्लिकन सांसदहरूको कडा विरोध सामना गर्नुपरेको थियो। आलोचकहरूका अनुसार यो कोषबाट सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवन (क्यापिटल हिल) मा भएको हिंसात्मक घटनामा संलग्न व्यक्तिहरूले समेत रकम पाउन सक्ने सम्भावना थियो। विशेष गरी, प्रहरीमाथि आक्रमण गरेको अभियोगमा दोषी ठहरिएकाहरूले पनि यसबाट लाभ लिन सक्ने चिन्ता व्यक्त गरिएको थियो।

गत साता सङ्घीय न्यायाधीश लियोनी ब्रिन्केमाले एक अस्थायी आदेश जारी गर्दै कोष स्थापना प्रक्रिया रोक्न निर्देशन दिएकी थिइन्। उनले न्याय मन्त्रालयलाई जुन १२ मा हुने प्रारम्भिक सुनुवाइ नभएसम्म कोष सञ्चालन गर्ने, दाबी स्वीकार गर्ने वा रकम वितरण गर्ने जस्ता कुनै पनि कार्य नगर्न आदेश दिएकी थिइन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कार्यवाहक महान्यायाधिवक्ता ब्लाञ्चको यो घोषणा न्याय मन्त्रालयले अदालतको आदेशप्रति असहमति जनाए पनि त्यसको पालना गर्ने बताएको भोलिपल्ट आएको हो। न्याय मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको वक्तव्यमा कोषको बचाउ गर्दै यो धेरै मानिसमाथि भएको अन्याय, दुरुपयोग र घृणाको क्षतिपूर्ति गर्न स्थापना गर्न लागिएको जनाएको थियो।

मन्त्रालयका अनुसार यो कोष कुनै पनि राजनीतिक विचारधाराका व्यक्तिका लागि खुला हुने थियो। डेमोक्र्याट, रिपब्लिकन, स्वतन्त्र वा अन्य कुनै पनि समूहका व्यक्तिले दाबी गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको थियो।

यसैबीच, भर्जिनियामा दुई व्यक्तिले मुद्दा दायर गर्दै आफूहरू राजनीतिक प्रतिशोधको सिकार भएको दाबी गरेका थिए। उनीहरूले आफूहरूलाई क्षतिपूर्ति माग्न अनुमति नदिइने हो कि भन्ने आशङ्का व्यक्त गरेका थिए।

सन् २०२१ जनवरी ६ को संसद् भवन घटनामा अभियोग लागेका धेरै ट्रम्प समर्थकहरूले उक्त कोषबाट क्षतिपूर्ति माग गर्ने योजना बनाएका थिए। ट्रम्पका केही पूर्व निकट सहयोगीहरूले पनि दाबी पेस गर्ने सङ्केत दिएका थिए। गत महिना कोषको घोषणा भएलगत्तै रिपब्लिकन तथा डेमोक्र्याट दुवै दलका नेताहरूले यसको तीव्र विरोध गरेका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com