अमेरिकी कम्पनी थ्रीएमविरुद्ध अष्ट्रेलिया सरकारद्वारा २ बिलियन डलरको मुद्दा दायर


प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार

अष्ट्रेलिया सरकारले अमेरिकी बहुराष्ट्रिय कम्पनी थ्रीएम विरुद्ध २ बिलियन अष्ट्रेलियन डलर बराबरको क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेको छ।

आगो निभाउन प्रयोग हुने फोममा विषाक्त “फरेभर केमिकल” प्रयोग गरी देशभरका दर्जनौँ रक्षा केन्द्रहरू प्रदूषित गरेको आरोप कम्पनीमाथि लगाइएको हो।

अष्ट्रेलिया सरकारका अनुसार यो देशको इतिहासमै सरकारद्वारा दायर गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो कानुनी दाबी हो। सरकारले पीएफएएस नामक रसायनका कारण २८ वटा स्थानमा भएको प्रदूषण नियन्त्रण, अनुसन्धान तथा सरसफाइमा ठूलो खर्च भएको जनाएको छ।

सरकारको दाबीअनुसार थ्रीएमले आगो निभाउने फोम र त्यसको वातावरणीय असरबारे जानकारी लुकाएको तथा गलत विवरण दिएको थियो।

कम्पनीले उक्त फोम सुरक्षित भएको दाबी गरे पनि त्यसको हानिकारक प्रभावबारे उसलाई पहिले नै जानकारी रहेको आरोप लगाइएको छ।

यद्यपि थ्रीएमले भने आफूले अष्ट्रेलियामा कहिल्यै पीएफएएस उत्पादन नगरेको दाबी गरेको छ। उसले २० वर्षअघि नै त्यस्तो फोम बिक्री गर्न बन्द गरिसकेको जनाउँदै कानुनी प्रक्रियामार्फत यी आरोपहरूको प्रतिवाद गर्ने बताएको छ।

पीएफएएस अर्थात् “पेर-एन्ड पोलिफ्लुओरोअल्किल पदार्थ” पानी प्रतिरोधी तथा नन-स्टिक गुण भएका रसायन हुन्। यी रसायनहरू आगो निभाउने फोम, मोबाइल फोन, कपडा तथा नन-स्टिक भाँडाकुँडामा प्रयोग गरिन्छन्।

यी रसायन सामान्य अवस्थामा सजिलै नष्ट नहुने भएकाले यिनलाई “फरेभर केमिकल” भनिएको हो। अनुसन्धानहरूले पानी, माटो र खाद्य पदार्थमा यसको खतरनाक मात्रा भेटिएको देखाएका छन् भने यो मानव शरीरमा पनि लामो समयसम्म रहन सक्ने बताइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सन् २०२२ मा थ्रीएमले क्यान्सरसहित विभिन्न स्वास्थ्य समस्याहरूसँग सम्बन्धित चिन्ता बढेपछि पीएफएएसको उत्पादन र प्रयोग पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेको थियो।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com