अमेरिकाको कागज उद्योगमा भीषण रासायनिक विस्फोट: मजदुर बेपत्ता, उद्धार कार्य जारी


प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार

brown concrete building near body of water during daytime

तस्बिर : चार्ल्स पिकरेल/अनस्प्ल्यास

अमेरिकाको एक कागज उद्योगमा भीषण रासायनिक विस्फोट भएको छ। घटनामा केही मानिसको मृत्यु भएको र कैयौँ घाइते भएको बताइएको छ। केही व्यक्तिहरू अझै हराइरहेका छन्।

यो विस्फोट वासिङ्टनको लङभ्यु सहरमा रहेको ‘निप्पोन डाइनावेभ प्याकेजिङ’ उद्योगमा भएको हो। उक्त स्थान सियाटलबाट करिब २१० किलोमिटर दक्षिणमा पर्छ।

अधिकारीहरूका अनुसार घटनामा १० जना घाइते भएका छन् र उनीहरूलाई अस्पतालमा भर्ना गरिएको छ। दुर्घटनामा कति जनाको मृत्यु भयो वा कति जना अझै बेपत्ता छन् भन्ने यकिन विवरण सार्वजनिक गरिएको छैन।

कम्पनीले जारी गरेको विज्ञप्तिअनुसार “ह्वाइट लिकर” नामक रसायन रहेको ट्याङ्की फुटेपछि उक्त विस्फोट भएको हो। “ह्वाइट लिकर” कागज उत्पादन प्रक्रियामा प्रयोग हुने अत्यन्त संक्षारक रसायन हो।

संक्षारक रसायन भन्नाले त्यस्ता रासायनिक पदार्थलाई बुझाउँछ, जसले मानिसको छाला, आँखा, धातु वा अन्य वस्तुमा गम्भीर क्षति पुर्‍याउन सक्छन्। यस्ता रसायनले छोएमा पोल्ने, घाउ बनाउने वा वस्तु पगाल्ने/गलाउने क्षमता राख्छन्।

काउलिट्ज फायर एन्ड रेस्क्युका प्रमुख स्कट गोल्डस्टिनले घटनामा मानिसहरूको मृत्यु भएको पुष्टि गरे पनि मृतकको संख्या अझै यकिन भइनसकेको बताएका छन्। घाइतेमध्ये नौ जना उद्योगका कर्मचारी र एक जना अग्निनियन्त्रक रहेका छन्। उनीहरूको अवस्था गम्भीरदेखि सामान्यसम्म रहेको बताइएको छ। धेरैजसो घाइतेहरूमा आगोले पोलेको तथा विषालु धुवाँ श्वासप्रश्वासका माध्यमबाट शरीरभित्र पुगेको समस्या देखिएको छ।

अधिकारीहरूका अनुसार विस्फोट भएको ट्याङ्कीको क्षमता करिब ८० हजार ग्यालोन (अर्थात् तीन लाख लिटर) रसायन अट्ने थियो। घटना हुँदाका बखत उक्त ट्याङ्की करिब ६० प्रतिशत भरिएको अवस्थामा थियो।

लङभ्यु अग्नि विभागले उद्धार कार्य जारी रहेको जनाएको छ। मृतक वा घाइतेहरूको पहिचान उनीहरूका परिवारलाई जानकारी नगराएसम्म सार्वजनिक नगरिने बताइएको छ। “ह्वाइट लिकर” मा सोडियम हाइड्रोक्साइड र सोडियम सल्फाइड जस्ता क्षारीय रसायनहरू सम्मिश्रित हुन्छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

वासिङ्टनका गभर्नर बब फर्गुसनले घटनास्थलमा सहयोगका लागि राज्यका वातावरणसम्बन्धी कर्मचारी पठाइएको बताएका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार यसअघि सोही उद्योगमा सन् २०२३ को जुलाईमा पनि ठूलो आगलागी भएको थियो। त्यतिबेला काठका थुप्राहरू धेरै दिनसम्म जलेका थिए।

उक्त उद्योगमा टिस्यु पेपर, प्रिन्टर पेपर, कप, प्लेट र कार्टुनलगायतका सामग्रीहरू उत्पादन हुने गर्छन्। यस उद्योगमा करिब एक हजार कर्मचारी कार्यरत रहेको बताइएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com