२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

जुनमा फाइनल एक्सन डेटका आधारमा मात्र रोजगारमा आधारित ग्रिनकार्ड फाइल गर्न पाइने, कुन श्रेणीको पालो कहिले?

युएससीआईएसले जुन महिनामा पनि अमेरिकाभित्र रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूका लागि ग्रिनकार्ड आवेदन आई-४८५ पेश गर्न भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्ट प्रयोग गर्नुपर्ने स्पष्ट गरेको छ। अप्रिलसम्म युएससीआईएसले रोजगारीमा आधारित एडजस्टमेन्ट अफ स्टेटस आवेदनहरूका लागि तुलनात्मक रूपमा उदार फाइलिङ डेट चार्ट प्रयोग गर्न अनुमति दिँदै आएको थियो।

फाइनल एक्सन डेट्स चार्टमा फर्किएसँगै एजेन्सीले आवेदकहरूको योग्यताको दायरा साँघुरो बनाएको छ। यसको अर्थ, आवेदकहरूले भिसा बुलेटिनको फाइनल एक्सन डेट चार्टमा आफ्नो प्राथमिकता मिति पूर्ण रूपमा करेन्ट नभएसम्म ग्रिनकार्ड आवेदन फारम आई-४८५ बुझाउन पाउने छैनन्।

जुन २०२६ को भिसा बुलेटिनअनुसार चीन र भारतबाहेक विश्वका सबै देशहरूका लागि रोजगारीमा आधारित पहिलो र दोस्रो श्रेणी करेन्ट रहेका छन्। धेरैजसो देशका लागि रोजगारीमा आधारित तेस्रो श्रेणी (स्किल्ड वर्कर) को प्राथमिकता मिति जुन १, २०२४ मै स्थिर रहेको छ भने भारतका लागि १५ डिसेम्बर २०१३, चीनका लागि १ अगस्ट २०२१ र फिलिपिन्सका लागि १ अगस्ट २०२३ मा रोकिएको छ।

जुन महिनामा अमेरिकाभित्र हुने रोजगारीमा आधारित ग्रिनकार्ड आवेदकहरूले ग्रिनकार्ड फाइल गर्दा प्रयोग गर्नुपर्ने र अमेरिकाबाहिर हुनेहरुले भिसा अन्तरवार्ता वा ग्रिनकार्ड पाउनसक्ने प्राथमिकता मिति।

त्यस्तै, तेस्रो श्रेणीको अन्य कामदारतर्फ ग्रिनकार्ड फाइल गर्ने वा भिसा अन्तर्वार्ता पाउने दुवै मिति १ फेब्रुअरी २०२२ मै स्थिर रहेका छन्। यी मिति पनि चीन, भारत र फिलिपिन्सका लागि फरक छन्। रोजगारमा आधारित चौथो श्रेणी र धार्मिक कामदारहरूको श्रेणीमा ग्रिनकार्ड फाइल गर्ने वा भिसा अन्तर्वार्ता पाउने मिति सबै देशका लागि १५ जुलाई २०२२ मै स्थिर रहेको छ।

पाँचौँ श्रेणीअन्तर्गतका ग्रामीण क्षेत्र र उच्च बेरोजगारी भएका क्षेत्रका लगानीकर्ताहरूका हकमा भने जुन महिनामा पनि करेन्ट रहेको छ। जनवरी २१ देखि अमेरिकाको विदेश मन्त्रालयले नेपाललगायत ७५ वटा देशका नागरिकलाई आप्रवासी भिसामा रोक लगाएकाले भिसा अन्तर्वार्तालगायतका सबै प्रक्रिया पूरा भए तापनि भिसा भने जारी गरिएको छैन। जसका कारण सबै प्रक्रिया पूरा गरेका आवेदकहरू समेत भिसा लिएर अमेरिका आउन पाएका छैनन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।