हस्ताक्षरमै चुक्दा अध्यागमन आवेदन अस्वीकृत, ५ वर्षमा ९०० प्रतिशत वृद्धि
अमेरिकी नागरिकता तथा अध्यागमन सेवा युएससीआईएसले हस्ताक्षरमा हुने त्रुटिका कारण आवेदनहरू अस्वीकृत गर्ने क्रममा निकै तीव्रता दिएको छ। पछिल्लो पाँच आर्थिक वर्षको तथ्याङ्क अनुसार हस्ताक्षर नमिल्दा वा नियमविपरीत हुँदा आवेदन रद्द हुने दर झन्डै ९०० प्रतिशतले बढेको पाइएको छ।
सोमबार फेडरल रजिस्टरमा प्रकाशित युएससीआईएसको आन्तरिक तथ्याङ्क अनुसार सन् २०२१ मा हस्ताक्षरका कारण जम्मा ३०० वटा आवेदन अस्वीकृत भएका थिए। तर, सन् २०२५ सम्म आइपुग्दा यो संख्या बढेर २,९५३ पुगेको छ। सन् २०२३ देखि २०२५ को बीचमा मात्रै यस्तो अस्वीकृति चार गुणाभन्दा बढीले बढेको देखिएको छ।
युएससीआईएसको नीति अनुसार आवेदनमा हातले नै हस्ताक्षर गरिएको हुनुपर्छ। यद्यपि, एजेन्सीले हातले गरिएको सक्कल हस्ताक्षरलाई पछि फोटोकपी, स्क्यान वा फ्याक्स गरिएको भए त्यसलाई मान्यता दिन्छ। तर, कुनै पनि डिजिटल इमेज क्रप गरेर टाँस्ने, टाइपराइटर वा छाप प्रयोग गर्ने, र अटो-पेनबाट गरिएको हस्ताक्षरलाई अवैध मानिन्छ। हस्ताक्षर अंग्रेजीमै हुनुपर्ने वा बुझिने हुनुपर्ने अनिवार्य छैन, तर त्यो सम्बन्धित व्यक्तिले नै गरेको हुनुपर्छ।
प्रशासनिक पुनरावेदन कार्यालयले हस्ताक्षर विवादित भएका ७५८ वटा अपिलहरूको फैसला गरेको छ। एउटा गम्भीर घटनामा एउटा कन्सल्टिङ फर्मले झन्डै ३,००० आवेदनहरूमा एउटै हस्ताक्षर “पेस्ट” गरेर पठाएको भेटिएको थियो।
यस प्रक्रियामा सबैभन्दा जोखिमपूर्ण पक्ष भनेको त्रुटि सच्याउने मौका नपाइनु हो। यदि हस्ताक्षरको त्रुटिका कारण आवेदन अस्वीकृत भयो भने युएससीआईएसले त्यसलाई सच्याउने अवसर दिँदैन। आवेदकले फेरि सुरुदेखि नै सबै फारम भर्नुपर्ने र पुनः आवेदन शुल्क तिर्नुपर्ने हुन्छ।
सामान्यतया वकिल वा अन्य प्रतिनिधिले आवेदकको तर्फबाट हस्ताक्षर गर्न पाउँदैनन्। १४ वर्ष मुनिका बालबालिकाको हकमा आमाबुबा वा संरक्षकले नाता प्रमाणित गर्ने कागजसहित हस्ताक्षर गर्न सक्छन् भने अशक्त व्यक्तिको हकमा कानुनी पावर अफ अटर्नी भएका व्यक्तिले हस्ताक्षर गर्नुपर्ने प्रावधान छ।
अध्यागमन कार्यालयले कागजात प्रशोधनका लागि स्वचालित प्रविधिको प्रयोग बढाएका कारण हस्ताक्षरमा हुने साना गल्तीहरू पनि सजिलै समातिन थालेका हुन्। यसले गर्दा आवेदकहरूले आफ्नो आवेदन बुझाउनुअघि हस्ताक्षरसम्बन्धी नियम पालना भएको छ कि छैन भनेर निकै सचेत हुनुपर्ने देखिन्छ।





