कम्बोडियामा २७ जना नेपालीहरू जेलमा, २११ नेपाली दूतावासको सम्पर्कमा
प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार
थाइल्यान्डस्थित नेपाली राजदूतावास । तस्वीर : सुरज घिमिरे/खसोखास
कम्बोडियामा गैरकानुनी रूपमा दुई सय ११ जना नेपाली नागरिक थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । नेपाली राजदूतावासले दिएको जानकारी अनुसार तीमध्ये ९ जना महिलाहरू रहेका छन् ।
दूतावासले विभिन्न समयमा कम्बोडिया आई बसेका नेपालीहरूको जानकारी लिने उद्देश्यले अनलाइन फारम तयार पारेको थियो । सोही अनुसार हालसम्म दुई ११ जना सम्पर्कमा आएको दूतावासले जनाएको हो । दूतावासका अनुसार उनीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेका हुन् ।
दूतावासले ट्राभल डकुमेन्ट आवश्यक रहेको भन्दै ७ मेसम्म अनलाइन फाराम भरेर विवरण उपलब्ध गराएका नेपालीहरूको यात्रा कागजात तयार गरी कम्बोडिया पठाइसकिएको जनाएको छ ।
दूतावासले भनेको छ, “ट्राभल डकुमेन्ट आवश्यक रहेको भनी ०७ मे २०२६ दिउँसो ४ः०० बजेसम्म फाराम भरी विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट तयार गरी कम्बोडिया पठाइसकिएको छ ।”
२७ जना नेपाली कारागारमा
दूतावासले २७ जना नेपाली विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको जनाएको छ । उनीहरूको मुद्दा प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने भएकाले आवश्यक सहरीकरणका लागि पहल भइरहेको राजदूतावासले जनाएको छ ।
दूतावासका अनुसार २५ जना नेपाली वैशाख २५ मा नेपाल फर्केका छन् । फर्किने नेपालीहरूलाई कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न विशेष आग्रह गरिएको छ । कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट मुलुकको भिसा आवश्यक पर्न सक्ने, पुनः लगेज चेक–इन गर्नुपर्ने तथा यात्रामा थप झन्झट र कठिनाइ हुन सक्ने चेतावनी दिइएको छ ।
साथै, कम्बोडिया जानका लागि नेपालीहरूले २ लाखदेखि ८ लाखसम्म विभिन्न व्यक्तिलाई रकम बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ ।
ठगी तथा मानव बेचबिखनको आशङ्का व्यक्त गर्दै दूतावासले नेपाल फर्किएपछि काठमाडौंको बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्न आग्रह गरेको छ । साथै दोषीमाथि कानुनी कारबाही गराउन र आफूले बुझाएको रकम फिर्ता असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउन पनि दूतावासले आग्रह गरेको छ ।





