कम्बोडियामा २७ जना नेपालीहरू जेलमा, २११ नेपाली दूतावासको सम्पर्कमा


प्रकाशित मिति : २७ बैशाख २०८३, आइतबार

थाइल्यान्डस्थित नेपाली राजदूतावास । तस्वीर : सुरज घिमिरे/खसोखास

कम्बोडियामा गैरकानुनी रूपमा दुई सय ११ जना नेपाली नागरिक थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको सम्पर्कमा आएका छन् । नेपाली राजदूतावासले दिएको जानकारी अनुसार तीमध्ये ९ जना महिलाहरू रहेका छन् । 

दूतावासले विभिन्न समयमा कम्बोडिया आई बसेका नेपालीहरूको जानकारी लिने उद्देश्यले अनलाइन फारम तयार पारेको थियो । सोही अनुसार हालसम्म दुई ११ जना सम्पर्कमा आएको दूतावासले जनाएको हो । दूतावासका अनुसार उनीहरू सन् २०२२ मे महिनादेखि २०२६ मे महिनासम्म कम्बोडिया पुगेका हुन् । 

दूतावासले ट्राभल डकुमेन्ट आवश्यक रहेको भन्दै ७ मेसम्म अनलाइन फाराम भरेर विवरण उपलब्ध गराएका नेपालीहरूको यात्रा कागजात तयार गरी कम्बोडिया पठाइसकिएको जनाएको छ ।

दूतावासले भनेको छ, “ट्राभल डकुमेन्ट आवश्यक रहेको भनी ०७ मे २०२६ दिउँसो ४ः०० बजेसम्म फाराम भरी विवरण उपलब्ध गराउनुभएका व्यक्तिहरूको ट्राभल डकुमेन्ट तयार गरी कम्बोडिया पठाइसकिएको छ ।”

२७ जना नेपाली कारागारमा 

दूतावासले २७ जना नेपाली विभिन्न अभियोगमा पुर्पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको जनाएको छ । उनीहरूको मुद्दा प्रक्रियाका क्रममा स्थानीय भाषा जान्ने वकिल आवश्यक पर्न सक्ने भएकाले आवश्यक सहरीकरणका लागि पहल भइरहेको राजदूतावासले जनाएको छ ।

दूतावासका अनुसार २५ जना नेपाली वैशाख २५ मा नेपाल फर्केका छन् ।  फर्किने नेपालीहरूलाई कनेक्टिङ फ्लाइट भएको टिकट मात्र खरिद गर्न विशेष आग्रह गरिएको छ । कनेक्टिङ फ्लाइट नभएको टिकट खरिद गर्दा ट्रान्जिट मुलुकको भिसा आवश्यक पर्न सक्ने, पुनः लगेज चेक–इन गर्नुपर्ने तथा यात्रामा थप झन्झट र कठिनाइ हुन सक्ने चेतावनी दिइएको छ ।

साथै, कम्बोडिया जानका लागि नेपालीहरूले २ लाखदेखि ८ लाखसम्म विभिन्न व्यक्तिलाई रकम बुझाएको सूचना प्राप्त भएको दूतावासले जनाएको छ । 

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ठगी तथा मानव बेचबिखनको आशङ्का व्यक्त गर्दै दूतावासले नेपाल फर्किएपछि काठमाडौंको बबरमहलस्थित नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी दर्ता गर्न आग्रह गरेको छ । साथै दोषीमाथि कानुनी कारबाही गराउन र आफूले बुझाएको रकम फिर्ता असुलउपर गर्न आवश्यक प्रक्रिया अघि बढाउन पनि दूतावासले आग्रह गरेको छ । 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com