२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

विश्वकप र ओलम्पिक आउँदै गर्दा अमेरिकामा पर्यटकको संख्यामा ४ मिलियनले गिरावट

अमेरिकामा आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या २०२५ मा उल्लेख्य रुपमा घटेको छ। कङ्ग्रेसनल रिसर्च सर्भिसको रिपोर्टअनुसार गत वर्ष ६८.३ मिलियन अन्तर्राष्ट्रिय आगन्तुक अमेरिका आएका थिए, जुन २०२४ को ७२.३ मिलियनभन्दा ५.५ प्रतिशत कम हो। यो २०२० यता पहिलो वार्षिक गिरावट हो।

रिपोर्टमा लामो भिसा अन्तर्वार्ता प्रतीक्षा, कडा सीमा तथा आप्रवासन नीति, सम्भावित शुल्क वृद्धि, डलरको मजबुती र केही देशका नागरिकमाथि लगाइएका यात्रा प्रतिबन्धले पर्यटनमा असर पारेको उल्लेख छ। सन् २०२५ का १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा आगमन घटेको थियो । २०२६ को जनवरीमा पनि आगमन ३.५ प्रतिशतले घटेको देखिएको छ।

अमेरिकाले २०२६ फिफा विश्वकप र २०२८ लस एन्जलस ओलम्पिक जस्ता ठूला अन्तर्राष्ट्रिय खेलकुद आयोजना गर्न लागिरहेकाले यो गिरावटलाई चासोका साथ हेरिएको छ। रिपोर्टका अनुसार सांसदहरू र पर्यटन क्षेत्रका प्रतिनिधिहरूले खेलाडी र दर्शकका लागि समयमै भिसा प्रक्रिया पूरा हुने नहुनेबारे चिन्ता व्यक्त गरेका छन्।

देशगत रूपमा भने अवस्था मिश्रित छ। २०२५ मा शीर्ष २० स्रोत मुलुकमध्ये ९ बाट आउने आगन्तुक बढेका छन् भने भने ११ बाट घटेका छन्। इजरायलबाट आउने संख्या १५.६ प्रतिशतले र अर्जेन्टिनाबाट १४.९ प्रतिशतले बढेको थियो, तर क्यानडाबाट आउने आगन्तुक २०.९ प्रतिशतले घटेको र जर्मनीबाट ११.३ प्रतिशतले कमी आएको थियो।

अर्थतन्त्रमा पनि यसको प्रभाव पर्न सक्ने रिपोर्टले जनाएको छ। वर्ल्ड ट्राभल एन्ड टुरिजम काउन्सिलका अनुसार २०२५ मा अमेरिकामा अन्तर्राष्ट्रिय पर्यटक खर्च करिब १७६ अर्ब डलर थियो, जुन २०२४ को तुलनामा ४.६ प्रतिशत कम हो। सीआरएस ले २०२३ मा यात्रा तथा पर्यटन क्षेत्रले अमेरिकी कुल गार्हस्थ्य उत्पादनको करिब ३ प्रतिशत हिस्सा ओगटेको पनि उल्लेख गरेको छ।

रिपोर्टले ब्रान्ड युएसएलाई दिइने संघीय मिलान अनुदान घटाइएकाले पर्यटन प्रवर्द्धनमा असर पर्न सक्ने चेतावनी पनि दिएको छ। साथै ट्रम्प प्रशासनका नयाँ यात्रा प्रतिबन्ध, भिसा बन्ड, छोटो अवधि भिसा र केही देशमाथिको कडाइले पनि अमेरिकातर्फको पर्यटनलाई थप कमजोर बनाउन सक्ने सम्भावना औंल्याइएको छ।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।