२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

ट्रम्प प्रशासनको कडा कदम, ३०० भन्दा बढी अमेरिकी नागरिकको नागरिकता खारेजीको तयारी 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको प्रशासनले आप्रवासन नीतिलाई थप कडा बनाउँदै देशमा बसोबास गरिरहेका विदेशी मूलका कम्तीमा ३०० जना अमेरिकी नागरिकहरूको नागरिकता खारेज गर्ने प्रक्रिया अघि बढाएको छ।

अमेरिकी डिपार्टमेन्ट अफ जस्टिसको स्रोतहरूका अनुसार नागरिकता प्राप्त गर्ने क्रममा व्यक्तिगत विवरण ढाँटिएको, झुटा कागजात पेश गरिएको वा जालसाजी गरिएको आशंकामा ती व्यक्तिहरूमाथि विस्तृत अनुसन्धान सुरु गरिएको हो। प्रारम्भिक छानबिनपछि उनीहरूको फाइलहरू पुनः मूल्याङ्कन गर्ने काम भइरहेको बताइएको छ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा (युएससीआईएस)ले देशभरका आफ्ना कार्यालयहरूबाट विशेष विज्ञ टोली परिचालन गर्दै पुराना नागरिकता फाइलहरूको व्यापक पुनरावलोकन गरिरहेको छ। स्रोतहरूका अनुसार यो अभियान अन्तर्गत हरेक महिना करिब १०० देखि २०० वटा शंकास्पद केसहरूको सूची जस्टिस डिपार्टमेन्टलाई पठाउने लक्ष्य राखिएको छ।

डिपार्टमेन्टका प्रवक्ताले यस अभियानलाई ‘क्रिमिनल एलियन्स’ तथा ‘नागरिकता प्रक्रियामा ठगी गर्नेहरू विरुद्धको कडा कदम’ भन्दै व्याख्या गरेका छन्। उनका अनुसार राष्ट्रिय सुरक्षा र कानुनी प्रक्रियाको विश्वसनीयता कायम राख्न यस्तो कारबाही आवश्यक रहेको दाबी गरिएको छ।

विगतमा नागरिकता खारेजीका घटनाहरू अत्यन्तै सीमित हुने गर्थे। सामान्यतया युद्ध अपराध, मानव अधिकार उल्लंघन वा गम्भीर आपराधिक इतिहास लुकाउने व्यक्तिहरूमात्र यस दायरामा पर्थे।

तर हालको प्रशासनले यस दायरालाई विस्तार गर्दै मेडिकेड वा मेडीकेयर जस्ता सरकारी सुविधा ठगी गर्ने, तथा राष्ट्रिय सुरक्षामा जोखिम हुन सक्ने व्यक्तिहरूलाई समेत अनुसन्धानको घेरामा ल्याएको बताइएको छ।

कार्यवाहक महान्यायाधिवक्ता टोड ब्लान्चको नेतृत्वमा जस्टिस डिपार्टमेन्टले इतिहासमै सबैभन्दा ठूलो संख्यामा नागरिकता सम्बन्धी मुद्दा अघि बढाउने लक्ष्य लिएको स्रोतहरूले जनाएका छन्।

यो कदम ट्रम्प प्रशासनको समग्र आप्रवासन कडाइ नीतिको एक हिस्सा भएको बताइएको छ। यसअघि नै प्रशासनले देशनिकाला अभियानलाई तीव्र बनाउन ठूला गोदामहरू भाडामा लिने र प्रवर्तन अधिकारीहरूको संख्या बढाउने जस्ता कदमहरू अघि बढाइसकेको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

आधिकारिक तथ्याङ्क अनुसार अमेरिकामा प्रत्येक वर्ष करिब ८ लाख मानिसले प्राकृतिकीकरण प्रक्रियामार्फत अमेरिकी नागरिकता प्राप्त गर्ने गरेका छन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।