अमेरिकी सहायक विदेशमन्त्री कपुरको नेपाल भ्रमण: बलियो सम्बन्ध, लगानी र आर्थिक सुधारमा केन्द्रित
फोटो : रासस
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरबिच भेटवार्ता भएको छ।
नेपाल भ्रमणमा रहेका अमेरिकी विदेश मन्त्रालयका दक्षिण तथा मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री कपुरले मन्त्रालयमा मन्त्री खनालसँग भेट गरे।
भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउनेलगायतका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। साथै, सो अवसरमा व्यापार तथा लगानीका क्षेत्रमा थप ध्यान केन्द्रित गर्दै सहकार्य विस्तार गर्ने विषयमा समेत कुराकानी भयो।
त्यसैगरी, सहायक विदेशमन्त्री कपुरले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि अर्थ मन्त्रालयमा भेट गरे। सो क्रममा नेपाल र अमेरिकाबिच लगानी प्रवर्द्धन, आर्थिक सुधार र द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा छलफल भयो।
सरकारको प्राथमिकता, लगानीको वातावरण र सम्भावित साझेदारीका क्षेत्रबारे पनि कपुरसँग छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक सुधार र गुणस्तरीय भौतिक पूर्वाधार निर्माण सरकारको मुख्य प्राथमिकता रहेको बताए। सहायक विदेशमन्त्री कपुरले नेपाल–अमेरिका सम्बन्ध बलियो रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास व्यक्त गरे।
सरकारले अघि सारेका सुधारका कार्यक्रमहरूलाई अमेरिकी प्रशासन र अमेरिकी जनताले सकारात्मक रूपमा हेरिरहेको कपुरले बताएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।





