राहदानीमा ‘रोजगार निषेध’ उल्लेख प्रकरण : दुई अध्यागमन अधिकृत हटाइए, छानबिन जारी
संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै Employment is strictly prohibited. Visit till १०/६/२०२६’ उल्लेख गरिएको घटनापछि अध्यागमन विभागले छानबिन प्रक्रिया अघि बढाएको छ । विभागले दुई जना अध्यागमन अधिकृतलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाएको छ ।
नेपाली नागरिकलाई शर्त तोकेर विदेश प्रस्थान अनुमति दिने कुनै नीति वा निर्णय नहुँदा प्रचलित कानुन तथा विभागीय निर्णय विपरीत गई गैर कानुनी अभ्यास गरेको ठहर भएपछि संलग्न दुई जना अध्यागमन अधिकृतलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइएको विभागका विभागका निर्देशक तथा प्रवक्ता टीकाराम ढकालले बताए ।
“संयुक्त अरब ईमिरेट्स प्रस्थान गर्न लागेका कुनै नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै ‘Employment is strictly prohibited. Visit till १०/६/२०२६’ लेखेको विषयमा मिति २०८३/१/ ३ को निर्णयबाट छानबिन समिति गठन गरिएको व्यहोरा अवगत नै छ।”, उनले भने, “नेपाली नागरिकलाई शर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएको हुँदा प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैर कानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतहरूलाई अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जिम्मेवारीबाट हटाइ सो सम्बन्धमा आवश्यक छानबिन भइरहेको व्यहोरा अनुरोध गरिन्छ।”
यूएई प्रस्थान गर्न लागेका नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै रोजगारी पूर्ण रूपमा निषेध गरिएको विषय उल्लेख गरेको फोटो र विषय सामाजिक सञ्जालमा सार्वजनिक भएपछि विभागले त्यसको छानबिनको लागि समिति गठन गरेको थियो ।





