२० कार्तिक २०८३, शुक्रबार| Friday, November 6, 2026

आप्रवासनमा कडाइ: अमेरिकाबाट निष्कासित पहिलो समूह कङ्गो पुग्यो

अमेरिकाबाट डिपोर्ट (निष्कासित) गरिएका १५ जना व्यक्तिहरू लोकतान्त्रिक गणतन्त्र कङ्गो पुगेका छन्। उनीहरू दक्षिण अमेरिकाका नागरिक भएको बताइएको छ।

अमेरिकाले निष्कासन गरी पठाएका मानिसहरूमध्ये यो पहिलो समूह हो। अमेरिकाले डिपोर्ट गरेकाहरूलाई कङ्गोले स्वीकार गर्ने सहमति यसअघि नै जनाएको थियो।

किन्शासास्थित सरकारले उनीहरूको बसाइ केवल अस्थायी हुने र उनीहरूको स्वागत, सहयोग तथा हेरचाहका लागि लाग्ने खर्च अमेरिकाले नै बेहोर्ने जनाएको छ।

अमेरिकाले कडा आप्रवासन नीतिको हिस्साका रूपमा घाना, दक्षिण सुडान र एस्वाटिनी लगायत अन्य अफ्रिकी देशहरूमा पनि निष्कासित व्यक्तिहरू पठाइसकेको छ।

कङ्गो सरकारले “तेस्रो देशका आप्रवासी” लाई स्वीकार गर्ने निर्णय मानव गरिमा, आप्रवासीको अधिकार संरक्षण र अन्तर्राष्ट्रिय एकताको प्रतिबद्धतासँग मेल खाने जनाएको छ।

कङ्गोका अधिकारीहरूले यो योजना स्थायी पुनर्वासको व्यवस्था नभई आप्रवासन नीतिभन्दा बाहिर रहेकालाई पठाउने प्रयास मात्र भएको स्पष्ट पारेका छन्।

अमेरिकी विदेश मन्त्रालयले अन्य देशहरूसँगको कूटनीतिक कुराकानीबारे टिप्पणी नगर्ने बताउँदै गैरकानुनी तथा व्यापक आप्रवासन अन्त्य गर्ने र सीमा सुरक्षा बलियो बनाउने प्रतिबद्धता कायम रहेको जनाएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आएपछि अमेरिकाले कडा आप्रवासन नीतिअन्तर्गत दर्जनौँ व्यक्तिहरूलाई तेस्रो देशहरूमा निष्कासन गरिसकेको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

अमेरिकी सिनेटको विदेश सम्बन्ध समितिको प्रतिवेदनअनुसार जनवरी २०२६ सम्म तेस्रो देशमा निष्कासन गर्न ट्रम्प प्रशासनले सम्भवतः ४० मिलियन डलर भन्दा बढी खर्च गरेको छ।

अमेरिकाले इक्वेटोरियल गिनी, रुवाण्डा, एल साल्भाडोर, एस्वाटिनी र पलाउ गरी पाँच देशलाई प्रत्यक्ष रूपमा ३२ मिलियन डलर भन्दा बढी सहयोग उपलब्ध गराएको छ।

कङ्गो सरकारको वक्तव्यअनुसार ती व्यक्तिहरूलाई राष्ट्रिय कानुनअनुसार छोटो अवधिको बसोबास अनुमति दिएर देशभित्र प्रवेश गराइएको हो। यद्यपि, उनीहरूको बारेमा थप विस्तृत विवरण सार्वजनिक गरिएको छैन। न्दजिली अन्तर्राष्ट्रिय विमानस्थलका स्रोतका अनुसार निष्कासित गरिएकामध्ये धेरैजसो कोलम्बिया र पेरु का नागरिक हुन्।

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।