२२ कार्तिक २०८३, आइतबार| Sunday, November 8, 2026

अमेरिकामा किन धमाधम बन्द हुँदैछन् कलेजहरू ?

अमेरिकामा निजी तथा गैर-नाफामूलक कलेजहरू धमाधम बन्द हुने वा गाभिने क्रम बढ्दै जाँदा उच्च शिक्षाको क्षेत्रमा गम्भीर संकट देखा परेको छ। यसै क्रममा उत्तर–पूर्वी भर्मोन्टको ग्रामीण क्षेत्रमा अवस्थित ऐतिहासिक स्टर्लिङ कलेजले आगामी मे महिनामा चालु सेमेस्टर सकिएसँगै स्थायी रूपमा बन्द हुने घोषणा गरेको छ।

१३० एकड क्षेत्रफलमा फैलिएको यो कलेज विशेष गरी कृषि तथा व्यावहारिक शिक्षाका लागि परिचित थियो। यहाँ विद्यार्थीहरूले पढाइसँगै फार्ममा काम गर्ने अवसर पाउने व्यवस्था थियो, जसले यसलाई अन्य कलेजहरूभन्दा फरक बनाएको थियो।

ह्युरोन कन्सल्टिङ ग्रुपको नयाँ प्रक्षेपणअनुसार आगामी १० वर्षभित्र अमेरिकाका १,७०० निजी कलेजहरूमध्ये ४४२ वटा बन्द हुने वा गाभिने जोखिममा छन्। यसले करिब ६ लाख ७० हजार विद्यार्थीको भविष्यमा प्रत्यक्ष असर पार्न सक्ने देखिएको छ।

स्टर्लिङ कलेज सन् २०१६ यता बन्द हुने भर्मोन्टको सातौँ निजी कलेज बनेको छ। विशेषज्ञहरूका अनुसार विद्यार्थी भर्ना घट्नु, महँगो शुल्क र बढ्दो ऋणको भारका कारण साना कलेजहरू टिक्न नसकेको अवस्था छ।

कलेज बन्द हुने खबरले विद्यार्थी र स्थानीय समुदाय स्तब्ध बनेका छन्। यद्यपि कलेज प्रशासनले अन्य संस्थाहरूझैँ अचानक बन्द नगरी विद्यार्थीलाई अन्तिम सेमेस्टर पूरा गर्ने वा अन्य कलेजमा स्थानान्तरण हुने समय दिएको जनाएको छ।

तर ‘स्टेट हाइयर एजुकेशन एक्जिक्युटिभ अफिसर्स’ को अध्ययनअनुसार कलेज बन्द भएपछि आधाभन्दा कम विद्यार्थीले मात्र आफ्नो अध्ययनलाई निरन्तरता दिन सक्छन्। धेरै विद्यार्थीले तिरेको शुल्क र कमाएको क्रेडिट समेत गुमाउने जोखिममा रहने गरेका छन्।

यो संकट साना कलेजहरूमा मात्र सीमित छैन। युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाले ९ सयभन्दा बढी कर्मचारी कटौती गरिसकेको छ भने स्ट्यानफोर्ड र नर्थवेस्टर्न जस्ता ठूला विश्वविद्यालयहरू पनि आर्थिक दबाबका कारण कर्मचारी घटाउन बाध्य भएका छन्।

सन् २०१० को तुलनामा अमेरिकामा कलेज जाने विद्यार्थीको संख्या २३ लाखले घटिसकेको छ। घट्दो जन्मदर र अन्तर्राष्ट्रिय विद्यार्थीलाई दिइने भिसामा आएको कमीले यो समस्या अझ गम्भीर बन्दै गएको विश्लेषण गरिएको छ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।