मलेसिया जाँदै गरेका २५० शरणार्थी अण्डमान सागरमा बेपत्ता


प्रकाशित मिति : २ बैशाख २०८३, बुधबार

अण्डमान सागरमा डुङ्गा डुब्दा करिब २५० जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रोहिङ्ग्या र बंगलादेशी नागरिक रहेका छन्। बेपत्ता हुनेको सूचीमा बालबालिका पनि रहेको संयुक्त राष्ट्रसंघका शरणार्थी र आप्रवासनसम्बन्धी निकायहरूले जनाएका छन्।

बंगलादेशबाट मलेसियातर्फ जाँदै गरेको उक्त डुङ्गा तीव्र हावा, ठूलो छाल र अत्यधिक चापका कारण डुबेको बताइएको छ।

डुङ्गा कहिले डुब्यो भन्ने यकिन छैन। तर, अप्रिल ९ मा बंगलादेशी झण्डा बोकेको एउटा जहाजले ड्रम र काठका टुक्रामा समातेर ज्यान जोगाइरहेका ९ जनालाई उद्धार गरेको तटरक्षकले जानकारी दिएको छ।

सन् २०१७ मा म्यानमारमा भएको हिंसात्मक दमनपछि लाखौँ रोहिङ्ग्या आफ्ना घर छोडेर बंगलादेश पुगेका थिए। मुस्लिम समुदायका रोहिङ्ग्यालाई बौद्ध बहुल म्यानमार सरकारले अझै नागरिकता दिएको छैन।

बंगलादेशका शरणार्थी शिविरमा कठिन जीवन बिताइरहेका धेरै रोहिङ्ग्या सुरक्षित र राम्रो जीवनको खोजीमा जोखिमपूर्ण समुद्री यात्रामा निस्कने गरेका छन्। उनीहरूका लागि मलेसिया एउटा सुरक्षित गन्तव्य जस्तो देखिन्छ।

तटरक्षक अधिकारीका अनुसार उनीहरू करिब दुई दिनसम्म समुद्रमा पौडिँदै ड्रम र काठका टुक्राको सहारामा ज्यान जोगाइरहेका थिए।

अप्रिल ११ को बिहान बंगलादेशबाट इन्डोनेसियातर्फ जाँदै गरेको “मेघना प्राइड” नामक जहाजले उनीहरूलाई देखेर उद्धार गरेको थियो। पछि उनीहरू कक्स बजार क्षेत्रका रोहिङ्ग्या र बंगलादेशी रहेको खुलेको थियो।

उक्त जहाजले पछि बंगलादेशी जलक्षेत्रमा प्रवेश गरेर उद्धार गरिएकाहरूलाई मन्सुर अली नामक तटरक्षक जहाजको जिम्मा लगाएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उद्धार गरिएका व्यक्तिहरूले करिब १०० जना मानिस देखेको बताएका छन्, तर अझै कति जना हराएका छन् भन्ने स्पष्ट छैन। डुङ्गा वा अन्य यात्रुहरूको कुनै पत्तो लागेको छैन।

उद्धार गरिएकामध्येका ४० वर्षीय रफिकुल इस्लामले आफू करिब ३६ घण्टासम्म समुद्रमा पौडिएर ज्यान जोगाएको बताए। उनले जहाजबाट बगेको तेलले शरीर पोलिएको पनि बताए। मलेसियामा काम पाइने आशाले आफू यो यात्रा गर्न बाध्य भएको उनको भनाइ छ।

संयुक्त राष्ट्रसंघीय निकायहरूले यो घटनालाई अत्यन्त दुःखद भन्दै रोहिङ्ग्याको दीर्घकालीन विस्थापन र स्थायी समाधानको अभावको परिणाम भएको बताएका छन्।

यस्ता डुङ्गाहरू साना, भीडभाडयुक्त र आधारभूत सुविधा विहीन हुने गर्छन्। धेरै यात्रु गन्तव्यसम्म पुग्न सक्दैनन्; कतिपयले समुद्रमै ज्यान गुमाउँछन् भने कतिपयलाई फर्काइन्छ वा नियन्त्रणमा लिइन्छ।

केही अवस्थामा मलेसिया र इन्डोनेसियाले पनि यस्ता डुङ्गालाई किनार नजिकैबाट फर्काउने गरेका छन्। सन् २०२५ जनवरीमा मलेसियाले करिब ३०० शरणार्थी बोकेका दुई डुङ्गालाई खाना र पानी दिएपछि फर्काएको थियो।

संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय समुदायलाई रोहिङ्ग्या शरणार्थी र उनीहरूलाई आश्रय दिने बंगलादेशका समुदायका लागि सहयोग जारी राख्न आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com