युद्धविरामपछि पनि अमेरिका आक्रामक, ‘हामी यहीँ छौं’ भन्दै इरानलाई चेतावनी


प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार

अमेरिकाले इरानसँग दुई साताको सर्तसहितको युद्धविराम घोषणा गरे पनि आफ्नो सैन्य उपस्थिति कायम राख्ने स्पष्ट संकेत दिएको छ। अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले बुधबार भने, ‘हामी कतै जाँदै छैनौँ ।’ उनले इरानले सम्झौता उल्लंघन गरे तत्कालै कारबाहीका लागि अमेरिकी सेना तयार रहेको समेत जनाए।

बुधबार आयोजित ब्रीफिङमा उनले पेन्टागनले इरानमा आफ्नो प्राथमिक मिशन पूरा गरिसकेको बताए। यद्यपी, उनले थपे, ‘हाम्रा सैनिकहरू रक्षा, आक्रमण र आवश्यकता परे तुरुन्त पुनः सक्रिय हुन पूर्ण रूपमा तयारी अवस्थामा छन् ।’

यसअघि मंगलबार राति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको बमबारी र सैन्य आक्रमण दुई साताका लागि स्थगित गर्ने सहमति भएको घोषणा गरेका थिए। उनले अमेरिकाले सबै सैन्य लक्ष्यहरू पूरा गरिसकेको दाबी गरे।

ट्रम्पले बुधबार बिहान थप स्पष्ट पार्दै भने, ‘यो सम्झौताअनुसार इरानले युरेनियम समृद्धि गर्न पाउने छैन ।’ साथै, अमेरिका–इरान सहकार्यमा गहिरो रूपमा गाडिएका आणविक सामग्री हटाइनेछ।

ब्रीफिङको सुरुवातमै हेगसेथले इरानलाई ‘४७ वर्षदेखि अमेरिका र स्वतन्त्र विश्वका लागि खतरा’ भन्दै टिप्पणी गर्दै उनले भने, ‘अब होइन, हाम्रो कार्यकालमा होइन।’

उनले अमेरिकी सैन्य अभियानलाई ऐतिहासिक र अत्यधिक निर्णायक विजयको रूपमा प्रस्तुत गर्दै ‘एपिक फ्युरी’ नामक अपरेसनले इरानको सैन्य क्षमता ध्वस्त पारेको दाबी गरे।

‘४० दिनभन्दा कम समयमा हामीले विश्वकै ठूलो सेनामध्ये एकलाई निष्क्रिय बनायौँ’, उनले भने, ‘आतंकवादलाई समर्थन गर्ने राज्य आफ्नै रक्षा गर्न असफल भयो।’

हेगसेथले युद्धविराम तत्कालै पूर्ण रूपमा लागू नहुन सक्ने संकेत पनि गरे। ‘कहिलेकाहीँ युद्धविराम स्थापित हुन समय लाग्छ’, उनले भने, ‘तर हामी निगरानी गरिरहेका छौँ । आवश्यक परे तुरुन्तै प्रतिक्रिया दिन तयार छौँ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

ट्रम्पले मंगलबार बिहान इरानलाई कडा चेतावनी दिँदै सम्झौता नगरे पूरै सभ्यता नष्ट हुने बताएका थिए। यस सन्दर्भमा हेगसेथले खुलासा गर्दै उनले भने, ‘हामीसँग पूर्वाधार, पुल र विद्युत् केन्द्रहरूजस्ता लक्ष्यहरू तयार अवस्थामा थिए।’

उनका अनुसार ट्रम्पले इरानलाई ऊर्जा निर्यात क्षमता नै समाप्त गरिदिने चेतावनी दिएका थिए, जसले अन्ततः इरानलाई वार्तामा ल्यायो।

युद्धविराम घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। प्रति ब्यारेल १०० डलरभन्दा तल झरे पनि युद्धअघिको स्तरभन्दा अझै माथि रहेको छ। साथै, सेयर बजारमा पनि प्रारम्भिक वृद्धि देखिएको छ।

तर स्थिति पूर्ण रूपमा स्थिर भने छैन। इरानको लावान टापुस्थित तेल प्रशोधन केन्द्र नजिक बुधबार कम्तीमा तीन विस्फोट भएको राज्य सञ्चारमाध्यमले जनाएको छ। यी आक्रमण कसले गर्‍यो भन्ने स्पष्ट हुन सकेको छैन, तर शंका अमेरिका वा इजरायलतर्फ गरिएको छ।

इजरायलले अमेरिकी प्रस्तावित युद्धविरामलाई समर्थन गरेको ह्वाइट हाउसका एक अधिकारीले जानकारी दिएका छन्। तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले यो सम्झौता हिज्बुल्लाहसँगको युद्धमा लागू नहुने स्पष्ट पारेको छ।

इरानका विदेशमन्त्री सैयद अब्बास अरघचीले अमेरिका आक्रमण रोक्ने सर्तमा इरानले ‘रक्षात्मक कारबाही’ रोक्न सहमति जनाएको बताएका छन्। उनले होर्मुज जलडमरूमध्यमा सुरक्षित आवागमन सुनिश्चित गरिने पनि बताएका छन्।

समुद्री निगरानी सेवाका अनुसार होर्मुज जलडमरूमध्यमा जहाजहरूको आवागमन पुनः सुरु हुन थालेको छ। दुई जहाजले उक्त संवेदनशील जलमार्ग पार गरिसकेको जानकारी सार्वजनिक गरिएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com