अमेरिकी पत्रकार इराकबाट अपहृत, इरानी मिलिसियाको संलग्नता रहेको आशंका


प्रकाशित मिति : १७ चैत्र २०८२, मंगलबार

वाशिंगटन, डी. सी. मा रहेको अमेरिकी विदेश मन्त्रालयको भवनको लबीको प्रवेशद्वार । (सेर्कन गुर्बुज/विदेश मन्त्रालय)

अमेरिकी पत्रकार इराकबाट अपहरणमा परेकी छन्। अमेरिकी स्वतन्त्र पत्रकार शेली किटल्सनलाई इराकको राजधानी बगदादबाट अपहरण गरिएको हो।

अपहरण कार्यमा संलग्न एक संदिग्ध व्यक्ति इरान समर्थित मिलिसियासँग सम्बन्धित रहेको इराकी तथा अमेरिकी अधिकारीहरूले बताएका छन्। किटल्सनलाई मंगलबार साँझ अपहरण गरिएको ‘अल मोनिटर’ नामक समाचार संस्थाले जनाएको छ। उक्त समाचार संस्थामा उनले लेखहरू योगदान गर्दै आएकी थिइन्।

इराकको गृह मन्त्रालयका अनुसार सुरक्षा बलहरूले अपहरणकारीहरूको पिछा गरेका थिए। त्यस क्रममा अपहरणकारीहरूको एउटा गाडी पल्टिएको थियो र एक जना संदिग्ध पक्राउ परेका छन्।

अमेरिकी विदेश मन्त्रालयका अधिकारीले इरानी समर्थित मिलिसिया समूह “कताइब हिज्बोल्लाह” सँग सम्बन्धित एक व्यक्तिलाई इराकी अधिकारीहरूले पक्राउ गरेको बताएका छन्।

अमेरिकी विदेश मन्त्रालयका ग्लोबल पब्लिक अफेयर्सका सहायक सचिव डिलन जोनसनले अमेरिकी पत्रकार अपहरणमा परेको पुष्टि गरे तापनि किटल्सनको नाम भने उल्लेख गरेनन्।

अमेरिकी अधिकारीहरूले किटल्सनलाई यसअघि पनि बारम्बार सम्भावित खतराबारे सचेत गराएका थिए। विदेश मन्त्रालयले गोपनीयता तथा अन्य कारणले गर्दा अहिले थप जानकारी दिन नसक्ने बताएको छ।

अमेरिकामा आधारित अल मोनिटरले स्थानीय समाचारहरू उद्धृत गर्दै किटल्सनलाई राजधानीको केन्द्रमा रहेको एक होटल नजिकैबाट अपहरण गरिएको जनाएको छ।

समाचार संस्थाले उनको अपहरणप्रति “गहिरो चिन्ता” व्यक्त गर्दै उनको सुरक्षित र तत्काल रिहाइको माग गरेको छ। इराकी अधिकारीहरूले उनलाई रिहा गराउन उच्च स्तरमा प्रयास भइरहेको बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

किटल्सनलाई इरान समर्थित अर्धसैनिक समूहबाट विशेष खतरा रहेको अमेरिकी सरकारले चेतावनी दिएको थियो। कताइब हिज्बोल्लाहले महिला पत्रकारहरूलाई अपहरण वा हत्या गर्ने योजना बनाएको भनिएको छ।

इटालीको रोममा बसोबास गर्दै आएकी किटल्सनले अफगानिस्तान, इराक र सिरियाका द्वन्द्वहरूबारे रिपोर्टिङ गर्दै आएकी थिइन्। उनको सामाजिक सञ्जाल प्रोफाइल अनुसार उनले विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूसँग काम गरेकी छन्।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com