हर्मुज जलमार्गमा अवरोधका कारण अमेरिकामा मलको मूल्य वृद्धि, खाद्यान्नमा कस्तो असर पर्ला ?


प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार

bunch of vegetables

हर्मुज जलमार्ग आंशिक रूपमा बन्द हुँदा विश्वव्यापी आपूर्ति शृङ्खलामा पुनः दबाब बढेको अमेरिकाले जनाएको छ।

अमेरिकी कृषि मन्त्री ब्रुक रोलिन्सले जलमार्गको अवरोधका कारण मलको मूल्य बढेको जानकारी दिइन्। मलको मूल्य बढे तापनि यसले अमेरिकामा खाद्यान्नको मूल्य तत्कालै बढाउने सम्भावना भने न्यून रहेको उनले स्पष्ट पारिन्।

कृषि मन्त्री रोलिन्सका अनुसार, अधिकांश अमेरिकी किसानहरूले गत शरद ऋतुमै मलको अर्डर गरिसकेकाले “कम्तीमा धेरै किसानका लागि रोपाइँको खर्चमा ठूलो अवरोध वा वृद्धि हुने छैन।” उनले थपिन्, “मूल्यका हिसाबले अमेरिका अहिले संसारका धेरै देशहरूभन्दा सुदृढ अवस्थामा छ।”

यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धले खाद्य मूल्यमा पार्ने प्रभावलाई “अस्थायी द्वन्द्व” को संज्ञा दिएका छन्। मध्यपूर्वका धेरै देशहरू आफ्नो अधिकांश खाद्यान्न आयातका लागि हर्मुज जलमार्गमै निर्भर छन्। यो मार्ग विश्वकै रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण समुद्री मार्गमध्ये एक हो।

संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रमले अमेरिका–इजरायल र इरानबीचको युद्धका कारण आपूर्ति शृङ्खला कोभिड–१९ महामारी र सन् २०२२ को रुस–युक्रेन युद्धपछिकै सबैभन्दा गम्भीर रूपमा प्रभावित हुन सक्ने चेतावनी दिएको छ। हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषयलाई लिएर अमेरिका र इरान आमनेसामने भएका छन्।

राष्ट्रपति ट्रम्पले आगामी ४८ घण्टाभित्र हर्मुज जलमार्गमा निर्वाध रूपमा यातायात सञ्चालन नभए इरानमाथि अहिलेसम्मकै कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उता, इरानले भने आफ्ना ऊर्जा केन्द्रहरूमा अमेरिका र इजरायलले आक्रमण जारी राखेमा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द गरिदिने चेतावनी दिएको छ।

अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण गरेपछि इरानले यो जलमार्ग सशक्त रूपमा अवरुद्ध गर्दै आएको छ। यो जलमार्ग प्रवेश र निकासमा करिब ५० किलोमिटर चौडा छ भने सबैभन्दा साँघुरो भागमा करिब ३३ किलोमिटर मात्र चौडा छ।

विश्वको करिब २० प्रतिशत तेल र तरलीकृत प्राकृतिक ग्यास यही मार्गबाट ढुवानी हुने गर्दछ। यस मार्गमार्फत इरानसँगै इराक, कुवेत, कतार, साउदी अरेबिया र यूएई जस्ता देशहरूको तेल निर्यात हुन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सामान्यतया प्रत्येक महिना करिब ३,००० जहाजहरूले यस मार्ग हुँदै यात्रा गर्छन्। तर हाल इरानले ट्याङ्कर र अन्य जहाजहरूलाई आक्रमण गर्ने चेतावनी दिएपछि आवतजावतमा उल्लेखनीय कमी आएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com