इरानको सैन्य क्षमता र प्रतिरक्षा प्रणाली ध्वस्त पार्ने अमेरिकी लक्ष्य


प्रकाशित मिति : ८ चैत्र २०८२, आइतबार

अमेरिकी राष्ट्रपति ट्रम्प । (फाइल तस्वीर)

अमेरिकाले इरानको नौसेना, वायुसेना तथा हवाई प्रतिरक्षा प्रणालीहरू समाप्त पार्ने आफ्नो सैन्य लक्ष्य सार्वजनिक गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रक्षामन्त्री पिट हेगसेथले इरानसँगको युद्ध र त्यसको रणनीतिक योजनाबारे जानकारी दिएका हुन्।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत मध्यपूर्वमा जारी सैन्य गतिविधिका उद्देश्यहरू उल्लेख गर्दै अमेरिकाले क्रमशः आफ्ना सैन्य गतिविधि घटाउने विचार गरिरहेको बताए। उनका अनुसार, अमेरिका इरानको क्षेप्यास्त्र क्षमतालाई पूर्ण रूपमा कमजोर बनाउन र उसको रक्षा औद्योगिक आधार ध्वस्त पार्न नजिक पुगेको छ।

ट्रम्पले थपे, “अमेरिकाको मुख्य लक्ष्य इरानको नौसेना, वायुसेना र हवाई प्रतिरक्षा प्रणाली समाप्त गर्नु हो। हामी इरानलाई कहिल्यै पनि आणविक क्षमता हासिल गर्न दिने छैनौँ र यस क्षेत्रका आफ्ना सहयोगीहरूको उच्च स्तरमा सुरक्षा गर्नेछौँ।”

यसैबीच, अमेरिकी रक्षामन्त्री हेगसेथले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु भएदेखि अमेरिकाका उद्देश्यहरूमा कुनै परिवर्तन नआएको स्पष्ट पारेका छन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले इरानका क्षेप्यास्त्र प्रक्षेपण प्रणाली, रक्षा औद्योगिक आधार र नौसेना नष्ट गर्नुका साथै इरानलाई आणविक हतियारबाट वञ्चित राख्नु नै अमेरिकाको मुख्य ध्येय रहेको बताए।

अर्कोतर्फ, इरानले दक्षिणी सहर बन्दर अब्बासस्थित एक प्रसारण केन्द्रमा भएको घातक आक्रमणका लागि अमेरिका र इजरायललाई दोषी ठहराएको छ।

इरानको रिभोल्युसनरी गार्ड्स कप्र्स सँग आबद्ध समाचार संस्था ‘तस्निम’ का अनुसार, होर्मुज जलमार्ग नजिकै रहेको उक्त ट्रान्समिटर केन्द्रमा भएको आक्रमणमा एक सुरक्षा गार्डको मृत्यु भएको छ भने अर्का एक व्यक्ति घाइते भएका छन्। इरानले यसलाई अमेरिका र इजरायलको संयुक्त सैन्य कारबाहीको परिणाम बताएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com