मध्यपूर्व द्वन्द्वको असर: ४३ हजार अमेरिकी स्वदेश फर्किए, अमेरिकी सैन्य केन्द्रमा इरानी हमला केन्द्रित


प्रकाशित मिति : २६ फाल्गुन २०८२, मंगलबार

फोटो : एपी/रासस

अमेरिका र इजरायलले इरानमाथि संयुक्त आक्रमण थालेपछि मध्यपूर्वबाट ४३ हजार अमेरिकी स्वदेश फर्किएका छन्। इरानसँगको द्वन्द्व सुरु भएयता मध्यपूर्व क्षेत्रबाट ४३ हजारभन्दा बढी अमेरिकी नागरिक स्वदेश फर्किएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो।

मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार फेब्रुअरी २८ देखि सुरु भएको सङ्कटपछि हालसम्म ४३ हजारभन्दा बढी अमेरिकी नागरिक अमेरिका फर्किसकेका छन्। प्रवक्ता पिगोटले यसमध्ये करिब ३० हजार नागरिकलाई विशेष रूपमा गठन गरिएको ‘टास्क फोर्स’मार्फत सहायता प्रदान गरिएको बताए।

अमेरिकी सरकारले यस क्षेत्रबाट आफ्ना नागरिकको उद्धार गर्न दुई दर्जनभन्दा बढी चार्टर उडान सञ्चालन गरेको जनाएको छ। यद्यपि, ती उडानहरू औसतमा ४० प्रतिशतभन्दा कम क्षमतामा सञ्चालन भएका थिए; किनकि धेरैजसो अमेरिकी नागरिकले व्यावसायिक उडानमार्फत स्वदेश फर्किन रोजेका थिए।

अमेरिकी विदेश मन्त्रालयका अनुसार मध्यपूर्वबाट चार्टर उडान र स्थलमार्गबाट उद्धार गर्ने प्रक्रिया अझै जारी छ। आवश्यक परेमा कुनै पनि अमेरिकी नागरिकले सहायता माग्न सक्ने मन्त्रालयले जनाएको छ।

यसैबीच, इरानले पछिल्ला केही घण्टामा मध्यपूर्व क्षेत्रमा इजरायली तथा अमेरिकी लक्ष्यहरूतर्फ नयाँ आक्रमणको लहर सुरु गरेको दाबी गरेको छ। इरानी सरकारी सञ्चारमाध्यमका अनुसार यो आक्रमण द्वन्द्व सुरु भएयताकै “सबैभन्दा तीव्र र शक्तिशाली” हो।

इजरायली सेनाले इरानबाट मिसाइल प्रहार भएको पहिचान गरिएको जनाएको छ। तर, केही समयपछि नागरिकहरूलाई आश्रयस्थलबाट बाहिर निस्कन सुरक्षित रहेको जानकारी दिइएको थियो। उता साउदी अरेबियाले आफ्नो एक तेल क्षेत्रलाई लक्षित गरी आएका दुई वटा ड्रोन खसालेर नष्ट गरिएको जनाएको छ।

यसैबीच, बहराइनमा पनि खतराको साइरन बजाइएको थियो। बहराइनमा मध्यपूर्वकै सबैभन्दा ठुलो अमेरिकी सैन्य हवाई अड्डा रहेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com