नर्वेमा रहेको अमेरिकी दूतावासमाथिको हमला आतंकवादी हुन सक्ने भन्दै अनुसन्धान सुरु


प्रकाशित मिति : २४ फाल्गुन २०८२, आइतबार

फोटो: एएफपी/रासस

नर्वेको राजधानी ओस्लोमा रहेको अमेरिकी दूतावासमा भएको विष्फोटको घटना आतंकवादी हुन सक्ने सुरक्षाकर्मीले आशंका गरेका छन्। ओस्लोस्थित अमेरिकी दूतावासमा शनिबार भएको विष्फोट सम्भावित आतंकवादको प्रयास हुन सक्ने नर्वेली प्रहरीले जनाएको हो।

घटनामा दूतावासमा सामान्य क्षति पुगेको छ, तर कुनै पनि व्यक्ति घाइते नभएको बताइएको छ। त्यहाँको प्रहरीको संयुक्त अनुसन्धान तथा खुफिया एकाइका प्रमुखले हमला आतंकवादी प्रयास हुन सक्ने सम्भावना रहेको बताए।

प्रहरीले अमेरिकी कूटनीतिज्ञहरूसँग सम्पर्कमा रहेको र घटना अनुसन्धानकै क्रममा रहेको जनाएको छ। अमेरिकी राज्य विभागका प्रवक्ताले पनि भने, “ओस्लोस्थित अमेरिकी दूतावासमा भएको घटनाबारे जानकारीमा छौँ र अनुसन्धान गर्दैछौँ।”

घटनास्थलमा दूतावासको ढोकामा क्षति र जलेका चिह्न देखिएका छन्। विष्फोट भवनको सार्वजनिक प्रवेशद्वारमा भएको हो। मर्गेडाल्सवेगेन क्षेत्र सहरको केन्द्रबाट करिब ७ किलोमिटर टाढा छ। घटनासँग सम्बन्धित कोही देखेका वा सुनेका सूचना छन् भने दिन प्रहरीले अपिल गरेको छ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरहरूमा दूतावासको कन्सुलर सेक्सन बाहिरको हिउँमा फुटेका सिसा, सिसाको ढोकामा दरार र टाइल भएको भुइँमा कालो दाग देखिएका छन्।

नर्वेली अधिकारीहरूले यस घटनालाई “अस्वीकार्य” भनेका छन्। विदेशमन्त्रीले कूटनीतिक नियोगको सुरक्षा नर्वेका लागि अत्यन्त महत्त्वपूर्ण रहेको बताए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com