न्यूयोर्क सिटीमा अत्यधिक चिसोका कारण १८ जनाको मृत्यु


प्रकाशित मिति : माघ २६, २०८२ सोमबार

अमेरिकाको न्यूयोर्क सिटीमा अत्यधिक चिसोका कारण १८ जनाको मृत्यु भएको छ। जनवरीको अन्त्यदेखि सहरले लामो समयसम्म चिसो लहर झेलिरहेको छ। यस अवधिमा चिसोका कारण मृत्यु हुनेको सङ्ख्या १८ पुगेको न्यूयोर्क सिटीका मेयर जोहरान मामदानीले बताएका छन्।

यस अवधिमा १३ दिनसम्म तापक्रम ० डिग्री सेल्सियस (३२°F) वा सोभन्दा तल रह्यो। जुन पछिल्ला ६ दशकयताकै सबैभन्दा लामो शून्यभन्दा तलको तापक्रम श्रृंखलामध्ये एक हो।

मेयर मामदानीले चिसोका कारण ज्यान गुमाउनु हरेक अवस्थामा दुःखद रहेको भन्दै परिवारहरूलाई सहयोग गर्ने बताएका छन्। तापक्रम यस हप्ता केही बढ्ने अनुमान भए तापनि अझै औसतभन्दा तल नै रहनेछ। मामदानीले बासिन्दाहरूलाई “सुरक्षित रहन, घरभित्रै बस्न” र एक-अर्काको ख्याल गरिरहन आग्रह गरेका छन्।

मेयर मामदानीका अनुसार १९ जनवरीमा ‘कोड ब्लु’ आपत्काल घोषणा गरिएपछि आश्रय गृहहरूमा प्रवेशसम्बन्धी नियमहरू खुकुलो बनाइएको छ। करिब १,४०० जनालाई आश्रय गृहमा बास दिइएको छ। सहरको आश्रय क्षमतामा ६४ वटा होटल कोठा थपिएको छ। सडकमा कम्तीमा १५० जना अतिरिक्त सम्पर्क कर्मचारीहरू परिचालन गरिएको मामदानीले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

२७ जनवरीमा मामदानीले मृत्यु भएका कम्तीमा १० जना बाहिरै फेला परेको बताएका थिए। अन्य मृत्युका परिस्थितिबारे भने अझै जानकारी सार्वजनिक गरिएको छैन।

साताभर न्यूयोर्क सिटी अत्यधिक चिसोको चेतावनीअन्तर्गत रहेको थियो। अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार, सोमबारको निरन्तर चिसो पछि हप्ताभरि तापक्रम करिब ० डिग्री सेल्सियस सम्म पुग्ने अनुमान छ। यस समयमा यहाँको सामान्य तापक्रम करिब ४ डिग्री सेल्सियस हुने गर्दछ।

आर्कटिक हावाको प्रणालीका कारण सो क्षेत्रमा अत्यन्तै खतरनाक “विन्ड चिल” (अर्थात् वास्तविक तापक्रमभन्दा बढी चिसो महसुस हुने अवस्था) देखिएको थियो, जसले हाइपोथर्मिया र फ्रस्टबाइटको जोखिम बढाएको मौसमविद्हरूले बताएका छन्।

न्यूयोर्क सिटीमा १३ दिनसम्म तापक्रम ० डिग्री वा सोभन्दा तल रहने क्रम सकिएको छ। यो तापक्रमको गिरावट १९६३ यताकै लामोमध्ये एक हो। न्यूयोर्कको आपत्कालीन व्यवस्थापन एजेन्सीले लगातारको चिसो र हिउँपछि समेत सहरभरि गम्भीर सुरक्षा जोखिमहरू अझै कायम रहेको चेतावनी दिएको छ।

एजेन्सीले भवनहरूबाट पग्लिएको हिउँ र बरफ अचानक खस्न सक्ने, साथै सडक र फुटपाथहरू रातभरि पुनः जम्न सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com