हिरासतमुक्त भएका आप्रवासीको दुखेसो : कुटपिटपछि छोरीसँगका केही सम्झनाहरू बिर्सिए


प्रकाशित मिति : माघ २६, २०८२ सोमबार

अमेरिकाको मिनेसोटा राज्यमा आप्रवासन अधिकारीहरूले हिरासतमा राखेका एक मेक्सिकन आप्रवासीमाथि कुटपिट गरिएको आरोप सार्वजनिक भएपछि विवाद बढेको छ। ३१ वर्षीय अल्बर्टो कास्टान्येडा मोन्द्रागोनले आफूलाई पक्राउ गर्ने क्रममा र हिरासत केन्द्रमा समेत कुटपिट गरिएको बताएका छन्।

मोन्द्रागोनका अनुसार जनवरी ८ मा सेन्ट पलस्थित एक किनमेल केन्द्र बाहिर साथीको कारबाट अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)का अधिकारीहरूले उनलाई तानेर बाहिर निकाले, भुइँमा लडाए र हातकडी लगाए। त्यसपछि उनलाई मुक्का प्रहार गरिएको तथा स्टिलको डन्डीले टाउकोमा हानिएको उनले आरोप लगाए। उनलाई पछि एसयूभीमा राखेर हिरासत केन्द्र लगिएको र त्यहाँ पनि दुर्व्यवहार भएको उनले बताएका छन्।

कुटपिटपछि उनी गम्भीर रूपमा घाइते भएका थिए। चिकित्सकहरूका अनुसार उनको खप्परका विभिन्न भागमा चोट लागेको थियो भने मस्तिष्कमा रक्तस्रावसमेत भएको थियो। उपचारका क्रममा उनी केही दिनसम्म दिशाहीन अवस्थामा रहेका थिए। मोन्द्रागोनले उक्त घटनापछि आफ्नो छोरीसँग सम्बन्धित केही सम्झनाहरू समेत बिर्सिएको बताएका छन्।

अस्पताल स्रोतका अनुसार आइस अधिकारीहरूले उनी आफैँ इँटाको भित्तामा ठोक्किएको बताएका थिए। तर सीटी स्क्यान रिपोर्टले चोटपटक सामान्य लडाइँ वा दुर्घटनाबाट लागेको जस्तो नदेखिएको चिकित्सकहरूले बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मोन्द्रागोनले आफूलाई धातुको डन्डीले प्रहार गरिएको दाबी गरेका छन्। अमेरिकी कानुन कार्यान्वयन निकायका प्रशिक्षण सामग्री अनुसार यस्तो डन्डी सामान्यतया शरीरका अन्य भागमा प्रयोग गर्न मिल्ने भए पनि टाउको, घाँटी वा मेरुदण्डमा प्रहार गर्नु अत्यन्त जोखिमपूर्ण मानिन्छ।

मोन्द्रागोनले अधिकारीहरूलाई जातीय विभेदपूर्ण व्यवहार गरेको आरोप पनि लगाएका छन्। उनले आफू र आफूसँगै पक्राउ परेका व्यक्तिले कुनै अपमान नगरे पनि आप्रवासी भएकै कारण दुर्व्यवहार गरिएको बताएका छन्।

यस घटनाबारे प्रतिक्रिया माग्दा अमरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन। घटनाको भिडियो रेकर्डिङ उपलब्ध छ वा छैन भन्ने पनि स्पष्ट भएको छैन।

पारदर्शिता बढाउने उद्देश्यले आइसले मिनियापोलिस क्षेत्रमा आप्रवासन अधिकारीहरूलाई शरीरमा लगाइने क्यामेरा प्रयोग विस्तार गर्ने घोषणा गरेको छ।

संघीय अदालतमा दायर कागजात अनुसार मोन्द्रागोन मार्च २०२२ मा कानुनी रूपमा अमेरिका प्रवेश गरेका थिए। तर, पक्राउपछि मात्र उनले भिसाको अवधि नाघेको पत्ता लागेको उल्लेख गरिएको छ। पछि एक संघीय न्यायाधीशले उनको पक्राउ गैरकानुनी ठहर गर्दै उनलाई हिरासतबाट रिहा गर्न आदेश दिएका थिए।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com