अमेरिकी आक्रमण भए मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा प्रहार गर्ने इरानको चेतावनी


प्रकाशित मिति : माघ २४, २०८२ शनिबार

इरानी विदेशमन्त्री अब्बास अराकची र उनको प्रतिनिधिमण्डल ओमानको मस्कटमा अमेरिकासँगको वार्ता स्थलको लागि प्रस्थान गर्दै । तस्वीर : सिन्ह्वा/रासस

इरानले अमेरिकी सेनाबाट आक्रमण भएमा मध्यपूर्व क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाउने चेतावनी दिएको छ। इरानका विदेश मन्त्री अब्बास अराकचीले शनिबार यस्तो चेतावनी दिँदै यसलाई ती अड्डा रहेका देशहरूमाथिको आक्रमणका रूपमा नहेर्न आग्रह गरेका छन्।

कतारी सञ्चार माध्यम अल जजिरासँगको अन्तर्वार्तामा उनले इरान र अमेरिकाबीच ओमानमा भएको अप्रत्यक्ष आणविक वार्ता सकारात्मक रहेको र वार्ता निरन्तर अगाडि बढाउने सहमति भएको जानकारी दिए। आगामी चरणको वार्ताको मिति तय नभए पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को साताको सुरुतिर वार्ता हुन सक्ने बताएका छन्।

ट्रम्पले इरानलाई युरेनियम संवर्धन रोक्न, ब्यालिस्टिक मिसाइल कार्यक्रम अन्त्य गर्न र क्षेत्रीय सशस्त्र समूहलाई सहयोग बन्द गर्न दबाब दिँदै आएका छन्। तर, इरानले आफूले आणविक इन्धनलाई हतियारको रूपमा प्रयोग गर्ने कुनै योजना नरहेको दोहोर्याउँदै आएको छ।

विदेशमन्त्री अराकचीले इरानले केवल आणविक विषयमा मात्र अमेरिकासँग छलफल गर्ने स्पष्ट पार्दै अन्य विषयलाई वार्तामा समावेश नगर्ने बताएका छन्। उनले संवादका लागि धम्की र दबाब बन्द हुनुपर्ने पनि बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत जुन महिनामा अमेरिकाले इरानका आणविक संरचनाहरूमा बम आक्रमण गरेको थियो, जुन इजरायलको १२ दिन लामो आक्रमण अभियानको अन्तिम चरणमा भएको थियो। त्यसपछि इरानले युरेनियम संवर्धन गतिविधि रोकिएको जनाएको छ। सोही क्रममा इरानले कतारस्थित अमेरिकी सैन्य अड्डामा मिसाइल आक्रमण गरेको थियो।

अराकचीले भविष्यमा पुनः अमेरिकी आक्रमण भएमा उस्तै प्रतिक्रिया हुन सक्ने चेतावनी दिएका छन्। उनले इरानले छिमेकी देशहरूलाई निशाना नबनाउने तर ती देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मात्र प्रहार गर्ने बताएका छन्।

इरानले युरेनियम संवर्धन गर्ने आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता चाहेको र मिसाइल कार्यक्रम वार्तामा ल्याउँदा इजरायलबाट सम्भावित आक्रमणप्रति आफू कमजोर बन्ने चिन्ता व्यक्त गरेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com