ओबामा दम्पती लक्षित जातिवादी भिडियो पोस्ट गरेका ट्रम्पले किन हटाए ?
प्रकाशित मिति : माघ २३, २०८२ शुक्रबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामालाई लक्षित गरेर राखेको भिडियो हटाएका छन्। उनले ओबामा दम्पतीलाई बाँदर (एप) का रूपमा देखाउँदै जातिवादी क्लिप समावेश भएको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।
उक्त क्लिप ६२ सेकेन्ड लामो थियो। भिडियोको अन्त्यमा सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा मत धाँधली भएको दाबी गरिएको थियो। भिडियोमा ‘द लायन स्लिप्स टुनाइट’ गीत प्रयोग गरिएको थियो।
पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, “मैले कुनै गल्ती गरेको छैन।” उनले भिडियो पोस्ट हुनुअघि आफूले यसको सुरुआत मात्र हेरेको र त्यसमा ओबामाहरूलाई यस्तो रूपमा देखाइएको थाहा नपाएको बताए। उनका अनुसार उक्त भिडियो एक कर्मचारीले पोस्ट गरेका थिए।
अफ्रिकी–अमेरिकी रिपब्लिकन सिनेटर टिम स्कटले उक्त पोस्ट हटाउन राष्ट्रपतिसँग आग्रह गरेका थिए। उनले यसलाई “ह्वाइट हाउसबाट मैले देखेको सबैभन्दा जातिवादी कुरा” भनेका थिए।
सुरुमा ह्वाइट हाउसले उक्त क्लिपलाई “इन्टरनेट मिम भिडियो” भन्दै बचाउ गरेको थियो र आलोचकहरूलाई “नक्कली आक्रोश रोक्न” आग्रह गरेको थियो। तर धेरै रिपब्लिकन सिनेटरहरू लगायतबाट तीव्र आलोचना भएपछि ट्रम्पको ‘ट्रुथ सोसल’ खाताबाट उक्त पोस्ट हटाइयो। ह्वाइट हाउसका अधिकारीले उक्त पोस्ट एकजना कर्मचारीले “गल्तीवश” गरेको बताएका छन्।
यो क्लिपले अश्वेत समुदायलाई बाँदरसँग तुलना गर्ने पुरानो जातिवादी कार्टुनहरूको झल्को दिन्छ। यो भिडियो अक्टोबरमा रूढीवादी मिम निर्माताले ‘एक्स’ मा पोस्ट गरेको सामग्रीबाट लिइएको देखिन्छ।
त्यस भिडियोमा अन्य चर्चित डेमोक्र्याट नेताहरूलाई पनि जनावरका रूपमा देखाइएको छ। जसमा न्युयोर्ककी प्रतिनिधि एलेक्सान्ड्रिया ओकासियो–कोर्टेज, न्युयोर्क सिटीका मेयर जोहरान मामदानी र पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन समावेश छन्। ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडनलाई पनि केरा खाइरहेको बाँदरका रूपमा देखाइएको छ।
ओबामा दम्पतीले अहिलेसम्म यस भिडियोबारे कुनै प्रतिक्रिया दिएका छैनन्। भिडियो हटाइनुअघि एनएएसीपीका अध्यक्ष डेरिक जोन्सनले यसलाई “घिनलाग्दो र अत्यन्त निन्दनीय” भन्दै ट्रम्पले एपस्टिन प्रकरण र “तीव्र रूपमा कमजोर हुँदै गएको अर्थतन्त्र” बाट ध्यान हटाउन खोजेको आरोप लगाए।
ओबामा प्रशासनका पूर्वउप–राष्ट्रिय सुरक्षा सल्लाहकार बेन रोड्सले भविष्यका अमेरिकीहरूले ओबामालाई प्रिय व्यक्तित्वका रूपमा अँगाल्दा ट्रम्पलाई देशको दागका रूपमा अध्ययन गर्नेछन् भनेका छन्। ट्रम्पको ओबामाप्रतिको आलोचना र आक्रमणको लामो इतिहास छ।
पहिलो पटक राष्ट्रपति बन्नुअघि ट्रम्पले हवाईमा जन्मिएका ओबामाको वास्तविक जन्म केन्यामा भएको भन्दै उनी राष्ट्रपति बन्न अयोग्य भएको झुटो दाबी बारम्बार गरेका थिए। पछि उनले ओबामा अमेरिकामै जन्मिएको स्वीकार गरेका थिए।






