अदालतको आदेशपछि ५ वर्षीय बालक लियाम र उनका बुबा आइस हिरासतबाट रिहा
प्रकाशित मिति : माघ १९, २०८२ सोमबार
आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस
५ वर्षीय बालक लियाम कोनेजो रामोस र उनका बुबा एड्रियन अलेक्जेन्डर कोनेजो रामोसलाई अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)को हिरासतबाट रिहा गरी मिनियापोलिसस्थित घर फर्काइएको छ। अदालतको आदेशपछि उनीहरू आइतबार रिहा भएका हुन्।
अमेरिकी जिल्ला न्यायाधीश फ्रेड बायरीले शनिबार सरकारी अधिकारीहरूलाई लियाम र उनका बुबालाई ‘सम्भव भएसम्म चाँडो’ हिरासतबाट मुक्त गर्न निर्देशन दिएका थिए। उनीहरूलाई गत महिना मिनेसोटामा आइस अधिकारीहरूले पक्राउ गरेका थिए ।
अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)की असिस्टेन्ट सेक्रेटरी ट्रिसिया म्याकलफलिनले आइतबार दुवै जनाको रिहाइ पुष्टि गर्दै आइसले कुनै बालकलाई लक्षित गरी पक्राउ नगरेको दाबी गरिन्। उनले ट्रम्प प्रशासन आप्रवासन प्रणालीमा कानुनको शासन कायम गर्न प्रतिबद्ध रहेको पनि बताइन्।
यसैबीच, उप–महान्यायाधिवक्ता टोड ब्लान्चले प्रशासनले न्यायाधीशको आदेशविरुद्ध अपिल गर्न सक्ने संकेत दिएका छन्। उनका अनुसार आप्रवासन कानुन प्रशासनिक प्रकृतिको भएकाले यसमा फरक प्रक्रिया लागू हुने गर्दछ।
टेक्सासका डेमोक्र्याट सांसद जोआक्विन कास्त्रोले सामाजिक सञ्जालमार्फत लियाम र उनका बुबालाई टेक्सासको हिरासत केन्द्रबाट लिएर मिनेसोटा फर्काएको जानकारी दिएका छन्। मिनेसोटाकी सांसद इल्हान ओमारले पनि उनीहरूको घर आगमनको स्वागत गर्दै सामाजिक सञ्जालमा सन्देश पोस्ट गरेकी छन्।
हिरासत अवधिभर लियाम र उनका बुबालाई टेक्सासस्थित डिल्ली आइस हिरासत केन्द्रमा राखिएको थियो, जहाँ नाबालक सन्तानसहितका आप्रवासी परिवारहरू राखिन्छन्।
लियाम अध्ययनरत कोलम्बिया हाइट्स पब्लिक स्कुल्सले लियामको रिहाइलाई सकारात्मक कदम भन्दै अन्य हिरासतमा रहेका बालबालिकाको पनि रिहाइ र परिवार पुनर्मिलनको माग गरेको छ।
परिवारका प्रतिनिधिहरूका अनुसार उनीहरू इक्वेडरका नागरिक हुन् । २०२४ मा शरणार्थीहरूका लागि प्रयोग हुने एक मोबाइल एपमार्फत अमेरिका प्रवेश गरेका थिए। तर डिएचएसले उक्त एप प्रयोग गरिएको कुनै अभिलेख नभएको जनाउँदै लियामका बुबामाथि गैरकानुनी रूपमा बसोबास गरेको आरोप लगाएको छ।






