अमेरिकामा हेभी-ड्युटी ट्रक र भ्यानका इन्धन दक्षता नियम खुकुलो पार्ने तयारी


प्रकाशित मिति : माघ १७, २०८२ शनिबार

जनवरी २५ मा वासिङ्टन डिसीमा रहेको ह्वाइट हाउस नजिकै हिउँ पन्छ्याउँदै एउटा ट्रक । तस्वीर : डेनियल स्लिम/एएफपी-रासस

अमेरिकी डिपार्टमेन्ट अफ ट्रान्सपोटेशनले हेभी–ड्युटी पिकअप ट्रक र भ्यानका लागि लागू गरिएका इन्धन दक्षता मापदण्डहरू फिर्ता लैजाने प्रस्ताव ल्याउने तयारी गरेको छ। पूर्व राष्ट्रपति जो बाइडेनको कार्यकालमा तोकिएका कडा सवारी साधनसम्बन्धी नियमहरूलाई खुकुलो बनाउने उद्देश्यसहित यो कदम चालिएको हो।

बाइडेन प्रशासनले २०२४ मा अन्तिम रूप दिएको नियमअनुसार २०३०–२०३२ मोडेल वर्षका हेभी–ड्युटी पिकअप ट्रक र भ्यानले प्रत्येक वर्ष १० प्रतिशत इन्धन दक्षता बढाउनुपर्ने र २०३३–२०३५ मोडेल वर्षका लागि वार्षिक ८ प्रतिशत वृद्धि गर्नुपर्ने व्यवस्था गरिएको थियो।

तर, शुक्रबार राष्ट्रिय राजमार्ग यातायात सुरक्षा प्रशासनले सवारी निर्माता कम्पनीहरूलाई पठाएको पत्रमा ती नियमहरू अव्यावहारिक रहेको र पुनःसंशोधन आवश्यक भएको जनाएको छ। पत्रमा अघिल्लो प्रशासनसँग ठूला सवारी साधनका लागि तोकिएका मापदण्ड पूरा गर्न नसक्दा नागरिक जरिवाना लगाउने कानुनी अधिकार नै नभएको दाबी पनि गरिएको छ।

प्रशासनका प्रशासक जोनाथन मोरिसनका अनुसार अव्यावहारिक मापदण्डहरूले व्यावसायिक सवारी साधन प्रयोग गर्ने अमेरिकी उपभोक्ता र व्यवसायीहरूलाई प्रत्यक्ष नोक्सान पुर्‍याउँछन्। “यी नियमहरूले बजार र उद्योगको यथार्थ अवस्थालाई प्रतिबिम्बित गर्दैनन्,” उनले भने।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि बाइडेन प्रशासनले भने हेभी–ड्युटी ट्रकसम्बन्धी नियमहरू लागू भएमा २०३५ मोडेल वर्षसम्म सवारी साधनहरूको समग्र औसत इन्धन दक्षता करिब ३५ माइल प्रति ग्यालोन पुग्ने र सवारी साधनको जीवनकालभरि पिकअप ट्रक तथा भ्यान मालिकहरूले ७०० डलरभन्दा बढी इन्धन खर्च बचत गर्न सक्ने दाबी गरेको थियो।

बाइडेनकालमै वातावरण संरक्षण एजेन्सीले पनि यस्तै प्रकृतिका समानान्तर नियमहरू जारी गरेको थियो। तर, अमेरिकी ट्रकिङ संघहरूले २०२४ मै २०३० का लक्ष्यहरू वर्तमान शून्य–उत्सर्जन प्रविधिको अवस्था, चार्जिङ पूर्वाधारको अभाव र विद्युत् ग्रिडमा रहेका सीमितताका कारण “पूर्ण रूपमा असम्भव” रहेको बताएका थिए।

यसैबीच, गत महिना प्रशासनले हल्का–ड्युटी यात्रु कार र ट्रकका लागि इन्धन दक्षता मापदण्ड घटाउने प्रस्ताव पनि अघि सारेको थियो। पेट्रोलचालित सवारी साधन बिक्री गर्न निर्माताहरूलाई सजिलो बनाउने उद्देश्यले २०२२ का मापदण्डहरू संशोधन गर्दै २०३१ सम्म वार्षिक ० दशमलव २५ प्रतिशतदेखि ०।५ प्रतिशतसम्म मात्र वृद्धि गर्ने प्रस्ताव गरिएको छ। बाइडेनको कार्यकालमा भने २०२४–२०२५ मोडेल वर्षका लागि वार्षिक ८ प्रतिशत र २०२६ का लागि १० प्रतिशत इन्धन दक्षता वृद्धि गरिएको थियो।

प्रशासनको अनुमान अनुसार नयाँ प्रस्ताव लागू भएमा सवारी निर्माता कम्पनीहरूको औसत प्रारम्भिक लागत करिब ९३० डलरले घट्नेछ। तर, यसले २०५० सम्म करिब १०० अर्ब ग्यालोन इन्धन खपत बढाउने, अमेरिकी उपभोक्ताहरूलाई थप १८५ अर्ब डलरसम्म इन्धन खर्च बढाउने र कार्बन डाइअक्साइड उत्सर्जन करिब ५ प्रतिशतले वृद्धि गराउने चेतावनी पनि दिएको छ।

प्रशासनले नयाँ नियम छिट्टै अन्तिम रूप दिने लक्ष्य रहेको जनाएको छ। गत वर्ष राष्ट्रपति डोनाल्ड ट्रम्पले कार र ट्रकका लागि सवारी निर्माता कम्पनीहरूलाई लाग्ने इन्धन दक्षता जरिवाना अन्त्य गर्ने कानुनमा हस्ताक्षर गरेका थिए। त्यसपछि २०२२ मोडेल वर्षदेखि नै कुनै पनि जरिवाना नलाग्ने प्रशासनले स्पष्ट पारेको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com