न्युयोर्कमा आईसविरुद्ध प्रदर्शन, एजेन्सी नै खारेज गर्नुपर्ने माग


प्रकाशित मिति : माघ १२, २०८२ सोमबार

फोटो श्रोत: ड्रम

अमेरिकाको मिनियापोलिस, मिनेसोटामा आप्रवासन एजेन्सी आईसको दमनकारी कारबाहीविरुद्ध देशभर ‘डे अफ एक्सन’ को आह्वान गर्दै न्युयोर्क सिटीको युनियन स्क्वायरमा शुक्रबार हजारौँ मानिस भेला भए । ट्रम्प प्रशासनअन्तर्गत आप्रवासन नीतिको तीव्र कठोरताविरुद्ध आयोजित प्रदर्शनमा श्रमिक संघ, विद्यार्थी, आप्रवासी अधिकारकर्मी, धार्मिक अगुवा र विभिन्न सामुदायिक संस्थाहरूको सहभागिता थियो।

प्रदर्शनकारीहरूले मिनियापोलिसमा पहिलो घटनामा आईस एजेन्टद्वारा ३७ वर्षीया रेनी निकोलगुडर दोस्रो घटनामा त्यसको भोलिपल्ट एलेक्स प्रेट्टीको हत्या गरिएको आरोप लगाउँदै ती दुवै घटनाको कडा निन्दा गरेका छन्। आयोजकहरूका अनुसार आईसको कारबाहीले देशभर कैयौँ परिवार विखण्डित भएका छन् र निर्दोष मानिसहरूको जीवन तहसनहस भएको छ।

न्युयोर्क सिटीका मेयर जोहरान मामदानीले पनि आईसको खुलेर आलोचना गर्दै भने, “हामी यस्तो सरकारी एजेन्सी देखिरहेका छौँ, जसको काम कानुन कार्यान्वयन हुनु पर्ने हो, तर उसले आप्रवासन हैसियत, कानूनी तथ्य वा केसको वास्तविकतासँग कुनै सरोकार नराखी मानिसहरूलाई आतंकित बनाइरहेको छ।”

फोटो श्रोत: ड्रम

उनले आईस नै खारेज गर्नुपर्ने धारणा राख्दै थपे, “म आईस समाप्त गर्नुपर्ने पक्षमा छु, किनकि यो संस्था आफ्नो अस्तित्वको उद्देश्य पूरा गर्न इच्छुक देखिँदैन।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मिनेसोटामा श्रमिक संघ, प्रगतिशील धार्मिक अगुवा, डेमोक्र्याटिक सांसद र सामुदायिक अभियन्ताहरूले शुक्रबार ‘आम हड्ताल’ आयोजना गरेका थिए। सो दिन मानिसहरूले काममा नगइ घरमै बसे, विद्यालय गएनन्, कुनै पनि सामान खरिद नगरेर विरोध जनाए।

न्युयोर्कमा प्रदर्शनकारीहरूले आईसलाई सधैँका लागि सहर छोड्न माग गर्दै आईसलाई प्रविधि र सेवा उपलब्ध गराएर आप्रवासी समुदायमाथि दमन गर्न सघाएको भन्दै होम डिपो, पलान्टिर र अमेजनजस्ता कम्पनीहरूको समेत विरोध गरे । उनीहरूले संसदमा निर्वाचित प्रतिनिधिहरूलाई आईसको बजेट कटौती गर्दै जवाफदेहिता सुनिश्चित गर्न कडा कदम चाल्न आग्रह गरेका छन्।

ड्रमकी आयोजक रोशोन आरा निपाले भनिन्, “यो हाम्रो लागि निर्णायक घडी हो। देशभर र न्युयोर्कमै देखिएका घटनाले आप्रवासी समुदायमा गहिरो डर फैलिएको छ। मानिसहरू काममा जान डराइरहेका छन्, आफ्ना बच्चाहरूलाई विद्यालय पठाउन सकेका छैनन् र किराना पसल जानसमेत त्रसित छन्। यति हुँदाहुँदै पनि हामी श्रमिक वर्गका आप्रवासीहरू एकजुट भएर आफ्ना समुदायको रक्षा गर्न तयार छौँ भन्ने सन्देश दिनैपर्छ।”

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com