अमेरिकी आप्रवासन अधिकारीहरूले ५ वर्षीय बालकसहित ४ बालबालिकालाई नियन्त्रणमा लिएपछि…


प्रकाशित मिति : ८ माघ २०८२, बिहिबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

अमेरिकी आप्रवासन अधिकारीहरूले यसै महिनामा मिनियापोलिस क्षेत्रको एक स्कूल डिस्ट्रिकबाट ५ वर्षीय बालकसहित ४ जना बालबालिकालाई नियन्त्रणमा लिएको पुष्टि भएपछि स्थानीय विद्यालय र समुदायमा चिन्ता र आक्रोश बढेको छ।

यो घटना अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन अभियानअन्तर्गत संघीय कानुन कार्यान्वयन अधिकारीहरूको गतिविधि तीव्र बनेको समयमा सार्वजनिक भएको हो। यस अभियानका क्रममा मिनेसोटाको सबैभन्दा ठूलो सहरमा करिब तीन हजार अधिकारी तैनाथ गरिएको बताइएको छ।

कोलम्बिया हाइट्स पब्लिक स्कूल्स डिस्ट्रिककी सुपरिन्टेन्डेन्ट जेना स्टेनभिकले पत्रकार सम्मेलनमा ५ वर्षे बालकलाई नियन्त्रणमा लिएको विषयलाई अस्वीकार्य भन्दै प्रश्न उठाइन्। “५ वर्षे बालकलाई किन पक्राउ गरिन्छ ? यस बच्चालाई हिंस्रक अपराधी भनेर कसरी वर्गीकृत गर्न सकिन्छरु” उनले भनिन्।

अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी (डिएचएस)ले भने बालकलाई लक्षित नगरेको दाबी गरेको छ। डिपार्टमेन्टकी प्रवक्ता ट्रिसिया म्याकलफलिनका अनुसार, अमेरिकी इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)ले गैरकानुनी रूपमा अमेरिकामा रहेका एड्रियन अलेक्जेन्डर कोनेजो एरियासलाई पक्राउ गर्न अपरेशन सञ्चालन गरेको थियो। अधिकारीहरू नजिकिँदै गर्दा उनी भागेपछि उनका बालकलाई घटनास्थलमै छोडिएको र बालकको सुरक्षाका लागि एक अधिकारी बालकसँगै बसेको डिएचएसले दाबी गरेको छ ।

स्कूल डिस्ट्रिकका अनुसार, मंगलबार प्रिस्कुलबाट ल्याइसकेपछि एक बालकलाई उनका बुबासँगै घरको ड्राइभवेबाट नियन्त्रणमा लिइयो। सोही दिन, १७ वर्षे एक उच्च माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय जाँदै गर्दा हतियारधारी र मुख छोपेका एजेन्टहरूले पक्राउ गरेको पनि बताइएको छ।

यसअघि दुई हप्ता अघि, १० वर्षे एक बालिकालाई प्राथमिक विद्यालय जाँदै गर्दा नियन्त्रणमा लिइएको र उनी तथा उनकी आमा हाल टेक्सासको हिरासत केन्द्रमा रहेको स्कूल डिस्ट्रिकले जनाएको छ। गत हप्ता अर्का १७ वर्षे विद्यार्थीलाई उनकी आमासँगै अपार्टमेन्टबाटै पक्राउ गरिएको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डिएचएसले अन्य बालबालिका पक्राउ परेका दाबीबारे भने कुनै प्रतिक्रिया दिएको छैन।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com