खाजा खान रेस्टुरेन्ट पुगेका आइस अधिकारीले मालिक र कामदारलाई नै पक्राउ गरेपछि…


प्रकाशित मिति : ४ माघ २०८२, आइतबार

आइस अधिकारी । फाइल तस्वीर । स्रोत : आइस

अमेरिकाको मिनेसोटा राज्यस्थित विल्मार सहरमा इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस) को कारबाहीपछि एक मेक्सिकन रेस्टुरेन्ट बन्द भएको छ। एल तापातियो नामक उक्त रेस्टुरेन्टमा आइस अधिकारीहरू शुक्रबार खाजा खानका लागि पुगेका थिए । ती आइस अधिकारीहरूले पछि फर्केर रेस्टुरेन्टका मालिक र एक जना कामदारलाई नियन्त्रणमा लिएपछि व्यवसाय बन्द गरिएको हो।

रेस्टुरेन्टका मालिकका छोरा बताउने २० वर्षीय युवकले शनिबार आफ्नै नेतृत्वमा व्यवसाय पुनः सञ्चालन गर्ने योजना बनाएका छन्। यसैबीच, स्थानीय बासिन्दाहरूले रेस्टुरेन्ट बन्द भएपछि समर्थन जनाउन त्यहाँ पुगिरहेका छन्।

स्थानीय बासिन्दा ब्रेन्ट फिसले ट्रम्प प्रशासनको आप्रवासन कडाइ सुरु भएयता ट्विन सिटिज क्षेत्रमा व्यापारमा ठूलो गिरावट आएको बताएका छन् । उनका अनुसार, आफू काम गर्ने मदिरा पसलको व्यापार ७५ प्रतिशतसम्म घटेको छ।

मिनियापोलिसबाट करिब १०० माइल पश्चिममा रहेको विल्मार सहरमा करिब २१ हजारभन्दा बढी विविध जनसङ्ख्या बसोबास गर्छ। आइसको आप्रवासन कारबाहीका कारण समुदायमा डर र असुरक्षाको भावना बढेको स्थानीयवासीहरू बताउँछन्।

“परिवारहरू ज्यानको डरमा छन्, कतिपय मानिसहरू घरबाट बाहिर निस्कन पनि डराइरहेका छन्,” स्थानीय बासिन्दा अब्दुल्लाही मोहम्मदले भने।

विल्मारका मेयर डग रीसले भने समुदायलाई शान्त रहन र एक–अर्काको सम्मान गर्न आग्रह गरेका छन्।

यस विषयमा प्रतिक्रिया दिँदै अमेरिकी डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनवरी १४ मा लक्षित एक गैर कानुनी आप्रवासीको निगरानीका क्रममा सो कारबाही भएको र त्यस क्रममा थप दुई जना व्यक्तिलाई पनि पक्राउ गरिएको जनाएको छ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com