अमेरिकामा २ महिनामा विद्यार्थी भिसामा अध्ययनरत ८२१ नेपाली सेभिजबाट गायब
प्रकाशित मिति : पुस १३, २०८२ सोमबार
अमेरिकाका कलेजमा २ महिनाको अवधिमा ८२१ जना नेपाली विद्यार्थीहरु घटेका छन् । अमेरिकी सरकारको सेभिज तथ्यांक अनुशार अक्टोबरमा अमेरिकामा कलेजमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३५ हजार २ सय ७३ रहेकोमा डिसेम्बरमा यो संख्यामा उच्च गिरावट आई ३४ हजार ४ सय ५२ कायम भएको छ । अक्टोबरको तुलनामा नोभेम्बरमा पनि अमेरिकामा विद्यार्थी भिसामा अध्ययनरत नेपालीहरुको संख्यामा गिरावट आएर ३५ हजार १८ जनाकोमात्र सेभिज रेकर्ड सकृय रहेको थियो ।
डिसेम्बरको सेभिज रेकर्ड अनुशार हाल अमेरिकामा विद्यार्थी भिसामा रहेर अध्ययनरत ३४ हजार ४ सय ५२ नेपालीहरुमध्ये १९ हजार १ सय ९३ जना पुरुष रहेका छन् भने १५ हजार २ सय ५९ महिला रहेका छन् । उनीहरुमध्ये ७ हजार २ सय ५४ एसोसिएट, १२ हजार ६ सय ५ ब्याचलर, ४२४० डाक्टरेट, भाषा तालिममा २३९ र मास्टर्समा ९ हजार ८ सय ४५ जना अध्ययनरत रहेका छन् ।
सेप्टेम्बरको तुलनामा अक्टोबर महिनामा अमेरिकामा भारत, चीन र नाइजेरिया जस्ता देशका विद्यार्थीहरूको सङ्ख्या घटदा समेत ब्राजिल र नेपालका विद्यार्थीहरूको सङ्ख्यामा भने वृद्धि भएको थियो । सेप्टेम्बरमा अमेरिकामा नेपाली विद्यार्थीहरूको सक्रिय सेभिज रेकर्ड ३४ हजार ८०७ रहेकोमा अक्टोबरमा ४६६ ले बढेको थियो ।
नेपाली विद्यार्थीहरूको सङ्ख्या अगस्टको तुलनामा पनि सेप्टेम्बरमा उल्लेख्य रूपमा बढेको थियो। अगस्टमा ३० हजार ०१९ नेपाली विद्यार्थी अध्ययनरत रहेका थिए । गत अगस्तमा खसोखासले प्रकाशित गरेको रिपोर्ट अनुशार त्यस अगाडिका ४ महिनामा अमेरिकाका शिक्षणसंस्थाबाट २ हजार भन्दा बढी नेपाली विद्यार्थीको सेभिज समाप्त वा खारेज भएको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीको तथ्यांकले देखाएको थियो ।
अध्यागमन एजेन्सी आइसको सेभिज रेकर्ड अनुशार अप्रिलमा अमेरिकामा विभिन्न शिक्षण संस्थामा अध्ययनरत ३२ हजार ७० जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड सकृय रहेकोमा अगस्तको सुरुसम्म २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज रेकर्ड खारेज वा समाप्त भई ३० हजार १९ मा झरेको थियो ।
सेभिज रेकर्ड अमेरिकाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र आगन्तुकहरूलाई ट्र्याक गर्न प्रयोग गर्ने एक डेटाबेस प्रणाली हो। यो प्रणालीले विद्यार्थी भिसा प्राप्त गरेका विद्यार्थीहरू र आगन्तुकहरूको जानकारी राख्छ। यो रेकर्ड खारेज गरिनुको अर्थ उनीहरूको भिसा स्थिति मान्य नरहनु हो। जसका कारण उनीहरूले अमेरिकामा कानुनी रूपमा बस्ने वा अध्ययन गर्ने अनुमति गुमाउन सक्छन्।
सेभिज रेकर्ड अनुशार अप्रिलसम्म अमेरिकामा एफ एम लगायतका भिसामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या बढ्दो क्रममा रहेपनि त्यसपछि भने यो संख्यामा उल्लेख्य गिरावट आएको थियो । अप्रिलको सुरुमा ३२ हजार ७० जना नेपाली विद्यार्थीहरु अध्ययनरत रहेकोमा मे महिनाको सुरुमा यो संख्यामा गिरावट आई ३१ हजार ९ सय ८९ मा झरेको थियो । सेभिजमा थपिने विद्यार्थीको संख्या समेत हुने भएकाले बढीमा कतिजनाको सेभिज खारेज भयो भन्ने तथ्यांक सार्वजनिक नभएपनि यो तथ्यांकले अप्रिलमामात्र कम्तीमा ८१ जना नेपाली विद्यार्थीको सेभिज खारेज भएको देखाएको थियो ।
जुनमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३१ हजार ४ सय ६२ अर्थात् ५२७ ले घटेको थियो । अप्रिल र मे महिनामा अमेरिकी सरकारको विदेश मन्त्रालय र डिपार्टमेन्ट अफ होमल्याण्ढ सेक्युरिटीले ब्यापक रुपमा नेपाली विद्यार्थीहरुको भिसा खारेज गरेको थियो । उक्त अवधिमा अमेरिकामा झण्डै १०० नेपाली विद्यार्थीहरूको भिसा र सेभिज रद्द भएको कानुन व्यवसायीहरूले अनुमान गरेका थिए । केही नेपाली विद्यार्थीहरूको भिसा दूतावासले रद्द गरेर विद्यार्थीहरूलाई इमेलमार्फत सूचना पठाएको थियो भने केही नेपाली विद्यार्थीहरूको सेभिज रेकर्ड रद्द भएको जानकारी कलेजले इमेलमार्फत दिएको थियो ।
जुलाईमा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुको संख्या ३० हजार ४ सय ८० मा झरेको थियो अर्थात् जुनको तुलनामा ९८२ ले घटेको थियो । त्यस्तै अगस्तमा यो संख्या जुलाईको तुलनामा ४६१ ले घटेर ३० हजार १९ मा झरेको थियो । अप्रिलदेखि अगस्तको सुरुसम्मको अवधिमा अमेरिकाका शिक्षण संस्थामा २ हजार ४९ जना विद्यार्थीहरु घटेकोबाट कम्तीमा २ हजार ४९ जना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भएको देखाउँछ । यद्यपी यो अवधिमा शिक्षण संस्थामा थपिने नेपाली विद्यार्थीहरुसमेत भएकाले सेभिज खारेज हुने नेपाली विद्यार्थीहरुको वास्तविक संख्या यो भन्दा अझ बढी रहेको छ ।
सेभिज खारेज केबल अमेरिकी सरकारको विदेश मन्त्रालय वा डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले भिसा रद्द गरेका कारणमात्र हुँदैन । विद्यार्थीहरुले आफै पढाई छाडेका कारण, पढाई सकेका कारण, भिसा वा स्टाटस परिवर्तन गरेका कारणपनि सेभिज समाप्त वा खारेज हुन्छ । त्यसैले ट्रम्प प्रशासनको पछिल्लो निशानामा परेर कतिजना नेपाली विद्यार्थीहरुको सेभिज खारेज भयो भन्ने यकिन विवरण नभएपनि सेभिज खारेजीको यो संख्याले उल्लेख्य संख्यामा नेपाली विद्यार्थीहरुको भिसा रद्द भएको देखाएको छ ।






